बागलुङ/महिला उद्यमशिलता विकास सहकारी संस्था लिमिटेड बागलुङको २४ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै सहकारीका प्रमुख संस्थापक संरक्षक प्राज्ञ प्रेम छोटाले महिला सशक्तिकरणको क्षेत्रमा महिला उद्यम सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।
साधारणसभामा ७० वर्ष उमेर पूरा गरेका ५ जेष्ठ नागरिक, असल ऋणी, असल नाबालक, नियमित बचतकर्तालाई नगद र प्रसंसा पत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष ज्योति श्रेष्ठ, संस्थापक संरक्षक सदस्य इन्द्रकुमारी श्रेष्ठ, संरक्षक सदस्य चन्द्रकुमारी श्रेष्ठ, सल्लाहकार कृष्णशंकर श्रेष्ठ, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, पत्रकार कोपिला कँडेल, सहकारीका सदस्य संगिता श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा सहकारीका अध्यक्ष अर्चना पालिखेले अध्यक्षको प्रतिबेदन, सचिव सृजना रेग्मी पन्तले प्रगति, कोषाध्यक्ष बबिता प्रधानाङ्ग वझाले आर्थिक र सुनिता शाक्यले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
२४ वर्षअघि बागलुङ सदरमुकाममा रहेका महिला उद्यमीको नेतृत्वमा स्थापना भएको सहकारीको शेयर पुजी ८१ लाख ५९ हजार रहेको कोषाध्यक्ष वझाद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीले यो आर्थिक वर्षमा ४ लाख ९५ हजार ५३ रूपैयाँ ३२ पैसा मुनाफा गरेको प्रतिवेदनमा सचिव सृजना रेग्मी पन्तले जानकारी दिइन् ।
यसैबीच, महिला हित बचत तथा ऋण सहकारी संस्थाको २३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले संस्थाका सचिव सावित्री केसीको आर्थिक वर्ष ८०÷८१ को प्रगति तथा चालु आर्थिक वर्ष २०८१÷८२ को प्रस्तावित नीति तथा कार्यक्रम, शिक्षा संयोजक राधा शर्माको शिक्षा प्रतिवेदन, लेखा समितिको सदस्य शान्ता अधिकारीको लेखा प्रतिवेदन र कोषाध्यक्ष पम्फा कुमारी किसानको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।
कार्यक्रममा सहकारीको सल्लाहकार मनकुमारी जिसी, सल्लाहकार लक्ष्मी बाँस्कोटा, विद्यार्थी विजेता कटुवाल, स्वाभिमान सहकारीको अध्यक्ष शिव कला थापा, मिरमिरे सहकारीका अध्यक्ष थानेश्वर सुवेदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाको अवसर पारेर संस्थाले उत्कृष्ट बचत तर्फ, उत्कृष्ट कारोबार, उत्कृष्ट उद्यमीलाई सम्मान गरेको थियो । कार्यक्रममा कार्यसमितिका सहसचिव सन्तु खड्का र कर्मचारीतर्फ लेखापाल सुष्मा मल्ल र बजार प्रतिनिधि सुशिला थापालाई सम्मान गरिएको थियो । सहकारीको सेयर सदस्य संख्या १४ सय र सेयर पुँजी २ करोड ७९ लाख पुगेको छ भने सहकारीले ३५ करोडको कारोबार गरेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष लिला देवी केसी खड्काको अध्यक्षता, संस्थाका सहसचिव सन्तु खड्काको स्वागत र सचिव सावित्री केसीको सञ्चालन सम्पन्न भएको थियो ।





