
बागलुङ/बागलुङ नगरपालिकाले निर्माण गरिरहेको तीन वटा सडकको निर्माण सामाग्री उत्खनन् र ढुवानीमा प्रहरीले पटक पटक अबरोध गरेको गुनासो बढेको छ ।
विश्व बैंकको सहयोगमा निर्माणाधिन मुलपानीदेखि तितौरे सम्मको साँढे ८ किमी, ओडारचौरदेखि ढोडेनी सम्मको साँढे २ किमी र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमी सडकका लागि उत्खनन् गरेको सामाग्रीमा प्रहरीको अबरोध भएको हो ।
नगरपालिकाको अनुमतिपत्र लिएर निर्माण सामाग्री उत्खनन् र ढुवानी गरिरहेको निर्माण कम्पनी ‘आशिष फेवा संयक्त निर्माण कम्पनी’का सामाग्री नियन्त्रणमा लिने र चालकलाई पक्राउ गरेर दुःख दिएको कम्पनीले बताएको हो । पटक पटकको समस्यापछि कम्पनीले काम रोकेपछि मात्र यो बिषय बाहिर आएको हो ।
नियम अनुसार राजश्व तिरेर अनुमति पत्र लिंदा पनि प्रहरीले दुःख दिएको भन्दै कम्पनीका प्रतिनिधिले काम रोकेका थिए । असार मसान्तभित्रै सक्नुपर्ने लक्ष्य पुरा गर्न कठिन हुने भएपछि नगरपालिकाले तत्कालै सहजीकरण गरेर काम भने सुरु गराएको छ । तर कम्पनीका प्रतिनिधिले पटक पटक सास्ती खेपेकोले अझैपनि समस्या पर्ने गुनासो गरे । ‘कहिले चालक पक्राउ परेका छन्, कहिले एस्काभेटर नियन्त्रणमा लिइएको छ’ इन्जिनियर मनोज शर्माले भने, ‘प्रहरीले अनावस्यक रुपमा दुःख दिएको छ ।’ अनुमति पत्र भएर पनि दुःख पाउनु परेको उनले गुनासो गरे ।
नगरपालिकले उक्त सडक निर्माणको बेला ढुंगा, गिटी र बालुवा गरी २२ सय घनमीटर सामाग्री उत्खनन् गर्न पाउने अनुमति कम्पनीलाई दिएको छ । उक्त अनुमति पत्रको बोदार्थ नगरपालिकाले जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशष्त्र प्रहरी र जिल्ला समन्वय समितिमा दिइसकेको थियो । कम्पनीका अनुसार ८ लाख राजश्व बुझाएर उक्त सामाग्री निकाल्ने अनुमति पाएको थियो ।
बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत आगामी असार मसान्तभित्र सक्ने गरी ती सडक निर्माण गरिरहेको हो । कम्पनीले ती काममा अहिलेसम्म ५० प्रतिशत प्रगती गरिसकेको छ । विश्व बैंकले ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराएपनि कम्पनीले ४५ करोडमा उक्त सडक ठेक्का लिएको हो । बेलाबेला गरिएको अबरोध र चालक पक्राउ पर्दा तोकेको समयमा काम सक्न अप्ठ्यारो परेको उनले गुनासो गरे । अप्ठ्यारो परेकै कारण कम्पनीले बेलाबेला काम रोक्न बाध्य भएको उनको गुनासो छ ।
प्रहरी निरिक्षक सुनिल चिलवालले अनुमति बिना जथाभावी सामाग्री उत्खनन् र ओसारपसार गरेको देखेर पक्राउ गरेको बताए । ‘अनुमति छैन भनेर पक्राउ गरेको थियो, कागजात भएपछि छाडेको छ’ उनले भने, ‘नगरपालिकाको अनुमति पत्र छ भने अप्ठ्यारो पर्दैन ।’ मौखिक कुराले मात्र काम गरेको जस्तो लागेर प्रहरीले सोधपुछ गरेको उनले बताए । अहिले चालक छुटिसकेका छन् ।
इन्जिनियर शर्माले भने सशष्त्र र जनपथ प्रहरीले पालैपालो काममा अबरोध पर्ने गरी दुःख दिएको बताए । कानूनत अनुगमन गर्ने अधिकार जिल्ला समन्वय समितिमा छ । अनुगमनको क्रममा सुरक्षा व्यवस्था चाहिएमा प्रहरी परिचालन गर्न सकिने जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताए । ‘अनुमति पनि रहेछ, ठिकै काम गरिरहेको भेटियो, दुःख दिनु आवस्यक छैन’ थापाले भने, ‘आवस्यकता परे हामीले अनुगमन पनि गर्ने छौं ।’ काम भैरहेको बेला हतोत्साही बनाउन नहुने उनले बताए ।
पटक पटकको दुःख पाएपछि निर्माण कम्पनीले ज्ञापन पत्रसहित तीन वटै सडकको काम रोकेको थियो । नगरपालिकाले समयमा काम सक्न पहल गर्दै नदीजन्य सामाग्री उत्खनन्बारे जिल्ला समन्वय समितिका प्रमुख सहितको बैठकमा उक्त समस्या राखेपछि थापाले पनि तोकिएको सामाग्री निकाल्न पाउने अनुमति भएको बताए । त्यसपछि प्रहरी पछि हटेको थियो ।
विश्व बैंकले तोकिएको समयमा काम नसे भुक्तानीमा अप्ठ्यारो पार्ने भएकोले निर्माण कम्पनीले काममा तीब्रता दिएको छ । यसअघि पनि विश्व बैककै सहयोगमा बानपा ४ देखि ६ सम्मको झण्डै ७ किमी सडक कालोपत्रे भैसकेको छ ।





