बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले संचार क्षेत्रले निराशा नभइ आसा जगाउने समाचार लेख्नुपर्ने बताएका छन् । बागलुङ खबर अनलाईनको तेस्रो वार्षिकोत्सवको अबसरमा बोल्दै मन्त्री पाठकले हामीले लडेर स्थापना गरेको लोकतन्त्र, गणतन्त्र, संघियताबारे आएका नकारात्मक टिप्पणीभन्दा यसका सफलताका बिषय उठाउनुपर्ने धारणा राखे ।
राज्यले पनि संचार क्षेत्रलाई हेर्ने दृष्टीकोण बदल्नुपर्ने, संचार माध्यमलाई टिकाउने काममा साथ दिनुपर्ने र पत्रकारहरु पलायन हुने अबस्था आउन नदिने गरी लगानीको वातावरण बढाउनुपर्ने समेत बताए । उनले संचार माध्यमहरु हलुका टिका टिप्पणीमा जान नहुने समेत बताए ।
बरु राम्रो बिषयमा अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउनुपर्ने, सुशासन स्थापनामा अगुवाई गर्नुपर्ने र नागरिकको अधिकार रक्षाकालागि अझैपनि सक्रिय बन्नुपर्ने धारणा राखेका थिए । ‘सुशासन, शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रण र बेथिती अन्त्यमा मिडियाले भूमिका खेल्नुपर्छ’ उनले भने, ‘राज्य असफल भयो भने मिडिया पनि असफल हुने हो त्यसैले राज्यलाई सफल बनाउने आधारहरु प्रस्तुत गर्ने काम पनि मिडियाको हो ।’ उनले मिडियालाई पनि मर्ने न मोटाउने अबस्थामा रहीरहन राज्यले दिन नहुने धारणा राखे ।
अनलाइन मिडियाहरु त अझै बढी अपडेट भएर लाग्नुपर्ने भन्दै मन्त्री पाठकले आम नागरिकको विश्वास जित्ने गरी काम गर्न सकेमा संचारक्षेत्रले प्रगती गर्न सक्ने पनि बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले मिडियाहरु तोकिएको मापदण्ड र नैतिकतामा बस्छन् भन्ने कुरा पत्रकारले नै नागरिक तह सम्म बुझाउनु पर्ने बताए । सामाजिक संजाल र केही प्रविधिले ल्याएको चुनौतीलाई मिडियाकै चुनौतीको रुपमा लिनु भन्दा वास्तविकता बुझाउन सक्नुपर्ने धारणा राखे । उनले अनलाईन पनि पत्रकारिता हो, यहाँ पनि बिज्ञापन हुन्छ भन्ने बुझाउन पनि बहस चलाउनुपर्ने उनको धारणा थियो ।
बागलुङ खबरका सम्पादक रामु जिसीको अध्यक्षता, पत्रकार अर्जुन कार्कीको संचालनमा सम्पन्न कार्यक्रममा न्यु मिडिया अबसर र चुनौती बिषयमा छलफल भएको थियो । उक्त अबसरमा नेपाल पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, महासंघ, गैससकर्मी मणि शर्मा, बागलुङका सचिव नारायण रिजाल, गण्डकी प्रदेश सदस्य रंजिता शर्मा, नेपाल प्रेस युनियनका अध्यक्ष संगम घर्तीमगर, ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहोरा, प्रगतीशिल पत्रकार संघका केन्द्रीय सचिव ताराप्रसाद शर्मा, प्रेस सेन्टरका उपाध्यक्ष अनिस खाती, सचिव बिनोद प्रतिक थापा, पत्रकार उमाकान्त शर्मा, बिजय राना, पूर्व प्रहरी टिकाबहादुर कार्की, पत्रकार प्रदिप पन्त, खेमराज गौतम, डम्बर बुढा, यामबहादुर थापा, लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
उक्त अबसरमा अनलाइनका संचालक खिमबहादुर कार्कीले १ लाख रुपैयाँको उपचार कोष स्थापनाको घोषणा गरे । बिशेषगरी बिरामी, घाइते वा असक्तलाई उपचारमा सहयोग गर्नेगरी उक्त कोषको व्याज परिचालन गर्ने उनले जानकारी दिए ।





