सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

करिडोरले छोटियो बुटबल

करिडोरले छोटियो बुटबल


  • Dhorpatan News
  • फाल्गुन ५ २०८१, सोमबार

बागलुङ/बागलुङको जैमिनी नगरपालिका ६ अर्जेवाका कृष्णबहादुर थापा बुटबल जानु परे सदरमुकाम आउँदैनन् । बरु कुश्मीसेराबाट कालीगण्डकी करिडोर हुँदै छुट्ने बसको यात्रा तय गर्छन् । उनले धेरै पटक यो यात्रा गरे ।

यसअघि बुटवल जानुपरे सदरमुकाम आएर एक रात बस्नुपर्ने बाध्यता थियो । सदरमुकाम आउन ६ सय भाडा तिरेपछि बागलुङबाट बुटवल जान थप एक हजार दुइ सय रुपैयाँ लाग्छ । बिहान ५ बजे छुट्ने बसले बेलुकी ६ बजे मात्रै प¥याउँछ । करिडोरबाट यात्रा गर्दा भाडा र समय आधा सस्तो परेको थापाले बताए ।

करिडोर निर्माणाधिन छ । तर नियमित बस संचालनमा आउन थालेका छन् । १ सय ५० किमी यात्रा गरेर मात्र पोखरा पुगिने बाध्यता अहिले जैमिनीबासीको घटेको छ । बरु त्यतिनै दुरी यात्रा गर्दा उनीहरु बुटवल पुग्छन् । बुटवल पुग्न सकेपछि उनीहरुले उपचार मात्र हैन, फर्कंदा गाउँको व्यवसायका लागि सामान पनि ल्याउन सक्छन् । यो क्षेत्रका धेरै मानिस बुटवल, भैरहवा र कपिलबस्तुमा बसाइ सरेका छन् । अधिकांसले आफन्तको नजिक पुग्नका लागि पनि यो बाटो तय गर्न थालेका छन् । बुटवलमा तुलनात्मक सामान पनि सस्तो पाउने स्थानीयले बताए ।
कालीगण्डकी करिडोरले बुटवललाई यति छोटो दुरीमा पु¥याएपछि करिडोरको यात्रा गर्नेहरु बढेका छन् । ‘अहिले त धेरै सजिलो भैसक्यो, बाटो कालोपत्रे भयो’ थापाले भने, ‘जैमिनी, बलेवा र बरेङबासीको दैनिकी बुटवल र पाल्पातर्फ नजिक बन्नेछ ।’ त्रिदेशीय मार्गको रुपमा कालीगण्डकी करिडोर स्थापित भैसकेकोले भारतको सिमाना पुगेर व्यापार गर्न अब छोटो बाटो तय भैसकेको जैमिनी नगरपालिका वडा नं. १ की पुष्पा आचार्यले बताइन् ।

करिडोरले बागलुङको जैमिनी मात्र हैन गुल्मीको कालीगण्डकी गाउँपालिका, पर्वतको बिहादी र फलेवास नगरपालिकाबासीलाई पनि सहज बनाएको छ । ‘बुटवल पढ्न गएका छोरीहरु बिहानको खाना खानै आइपुग्छन्’ पर्वतको बिहादीका हरि न्यौपानेले भने, ‘करिडोरले सदरमुकाम र बुटवल उस्तै बनाएको छ ।’ करिडोरले ४ सय १७ किमीमा चीन र भारत जोड्ने त्रिदेशीय मार्ग निर्माण गरेको छ । करिडोरअन्तर्गत गुल्मी र बागलुङ खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो । त्यसपछि १० मीटर चौडा पार्ने काम पनि सेनाले ग¥यो । अहिले कालोपत्रेको काम भैरहेको छ ।
जैमिनी नगरपालिकाको वडा नं. १ देखि गुल्मीको हर्मीचौर ४५ किमी सडक कालीका कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । आगामी २०८२ को मंसिर मसान्तसम्म सकिनुपर्ने कामको ८० प्रतिशत पुरा भएको करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले बताए । यो गतिमा काम भए समय अघिनै सकिने अनुमान आयोजनाको छ । ३ अर्ब ३३ करोडमा लगाइएको ठेक्काको खण्डमा नाली, पर्खाल, पुल र कजवेहरु बनिसकेका छन् भने अधिकांस खण्ड कालोपत्रे भैसकेको हो ।

५ वर्ष अघिसम्म सडक संजालले जोड्नै कठिन यहाँको जैदी, छिस्ती, अर्जेवा लगायतका बासिन्दा अहिले सहजै यात्रा गर्न पाएका छन् । सडक खुलेपछि सदरमुकाम र पाल्पा, बुटवल जाने सवारी पनि सहजै पाउन थालिएको जैमिनी ८ का ओमकार थापाले बताए । ‘अहिले त बाइक चढेर सदरमुकामभन्दा बुटवल पहिला पुग्छु’ थापाले भने, ‘सहज आउजाउ भएपछि पाल्पा र बुटवल झरेर पढ्नेहरु पनि बढेका छन् ।’ समयमा बुटवल पुग्दा पूर्वपश्चिम जानुपर्ने यात्रीले पनि करिडोरको यात्रा गर्न खोजेको उनले बताए ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाका भागिरथ न्यौपानेले त आफ्नो जीवनमा अनौठो परिवर्तन देखेको बताए । ‘हामीले जीवनमा गाडी चढ्न पाइएला, घरमै गाडी आउला भन्ने सोचेका थिएनौं’ उनले भने, ‘करिडोरले दक्षिण बागलुङ, गुल्मी र स्याङजाका केही खण्डलाई विकासको मुलधारमा जोडेको छ ।’ यो सडकमा दैनिक बुटवलदेखि बागलुङको कुश्मीसेरासम्म बस चल्न थालेका छन् । यो यात्रा पोखराहुँदै बुटवल जानेभन्दा ५ घण्टा छोटो भएको चालकले बताए । बागलुङको बुर्तिवाङ तर्फका सवारी पनि रिडीदेखि पाल्पाको अर्गली, तानसेन हुँदै बुटवल जाने गर्छन् । यसरी यात्रा गर्दा सामान खरिदका लागि बुटवल जाने र उपचारका लागि पाल्पा जानेलाई सहज भएको हो । पश्चिम बागलुङ बासीले पनि रिडीमा करिडोर भेट्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->