बागलुङ/राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले गरेको मूल्यांकनमा बागलुङको जैमिनी नगरपालिका जिल्लाकै उत्कृष्ठ स्थानीय तह बनेको छ । आयोगले गरेको मूल्यांकनमा कुल ६८ दशमलब ३ अंक पाएर जैमिनी प्रथम भएको हो ।
आयोगले गरेको मूल्यांकनमा ढोरपाटन नगरपालिकाले ६६ दशमलब ८, गलकोट नगरपालिकाले ६५ दशमलब २, बडिगाड गाउँपालिकाले ५९ दशमलब ८ अंक पाएको छ । त्यस्तै काठेखोला गाउँपालिकाले ५९ दशमलब ८ अंक नै पाएको छ ।
सदरमुकाम रहेको बागलुङ नगरपालिकाले ५७ दशमलब ९ अंक पाएर छैठौं तहमा पुगेको छ । त्यसपछि बरेङको ५७ दशमलब ४, तमानखोलाको ५०, ताराखोलाको ४९ र निसीखोला गाउँपालिकको ४८ अंक मात्रै प्राप्त भएको छ । आयोगले १७ वटा सूचकमा पालिकाको मूल्यांकन गर्ने गरेको छ ।
पालिकाले योजना तर्जुमा देखि बजेट विनियोजन, खर्च गर्ने क्षमता, समयमा काम सक्नेदेखि दुइ वा दुइ पालिका, दुइ जिल्ला र विभिन्न रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्न सक्ने क्षमताको आधारमा अंक दिने गरेको हो ।
पालिकाले लक्ष्य राखेअनुसार कर संकलन गर्न सके नसकेको, प्रक्षेपित लक्ष्य प्राप्त गर्न नसक्दा पनि पालिकाको अंक घट्ने गरेको छ । लेखा परीक्षण गराउँदा देखिने बेरुजु, त्यो भित्र पनि असुल गर्ने बेरुजु, सैद्दान्तिक बेरुजुको मूल्यांकन हुने गरेको हो । विद्यालयमा विद्यार्थीको भर्ना दर, टिकाउने दर, परीक्षाफल, पूर्ण खोपको मूल्यांकन हुने गरेको हो । त्यसका लागि पालिकाले समेत स्वमूल्यांकन गर्न सक्ने छन् ।
यो अंकभारले संस्थागत भएको बागलुङ नगरपालिकाभन्दा पछि स्थापना भएर संचालनमा आएका पालिकाहरु मेहेनती देखिएका छन् । जैमिनीले अघिल्लो वर्ष पनि जिल्लामा प्रथम स्थान पाएको थियो । ढोरपाटनले पहिलो पटक दोश्रो स्थान पाएको छ । गलकोटले केही वर्षअघि दुइ पटकसम्म अब्बल बनेकोमा अहिले पनि तेस्रो स्थान पाएको हो । बडिगाड र काठेखोला मध्यम खालका छन् । ताराखोला, निसीखोला र तमान लगायतले आफ्नो कामको गति सुधार गर्नुपर्ने देखिएको छ । उनीहरु ५० अंकभन्दा तल भएकोले बढी मेहेनत गर्नुपर्ने देखिएको हो ।
‘यो पद्दतीले बजेट धेरै भएर वा जनशक्ती भएर मात्र सफल भईदैन भन्ने सन्देश दिएको छ’ बागलुङ नगरपालिका लेखा समितिका संयोजक अर्जुन घिमिरेले भने, ‘समितिले औल्याएका सुझाव समयमा पुरा गर्न सकेमा मात्र सूचकहरु पुरा हुन्छन् ।’ विकासका ठूला योजना बनाएर अलपत्र छाड्ने, बेरुजु न्युनिकरणमा कमजोर लगायतका समस्याले पनि अंकभारमा कमी आएको उनको तर्क छ ।





