
पोखरा/ पोखराको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ । आज दिउँसो पौने २ बजेसम्मको समयमा पोखराको वायु प्रदूषण ३२१ मापन गरिएको छ । यो आज नेपालभरकै प्रदूषण मापनमा उच्च रहेको वातावरण विभागले जनाएको छ ।
विभागका अनुसार ०–५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । ३०१ एक्यूआईभन्दा माथिलाई खतरनाक तहमा पुगेको मानिन्छ । शनिबार पोखरामा वर्षात् भए पनि वायु प्रदुषणमा सुधार नभएको हो ।
५१–१०० मध्यम, १०१–१५० हुँदा संवेदनशील समुहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ । पोखरा पछि दोस्रो स्थानमा रहेको भैंसेपाटीको वायु प्रदूषण १३३, शंखपार्क १३१, धनगढी १०९ र भरतपुरको १०१ एक्यूआई प्रदूषण मापन गरिएको छ । पछिल्लो २५ घन्टामा पनि पोखरा नै उच्च प्रदूषित सहरमा दरिएको थियो । मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागको सूचनामा छ ।






