पोखरा/ सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराको ब्यारेकमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको परिवारले अर्का एक प्रहरी निरीक्षकबिरुद्ध आत्महत्या दुरुत्साहनमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएको छ । जाहेरी दर्ता गरेर पक्राउ पुर्जी लिएर अनुसन्धान तयारी भइरहेको कास्की प्रहरीले जनाएको छ । जाहेरी परेका निरीक्षक र मृतक महत प्रेम सम्बन्धमा रहेका स्रोतले जनाएको छ ।
उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत एक जना पुरुष निरीक्षकविरुद्ध जाहेरी दिइएको हो । जाहेरी परेका निरीक्षक मृतक महत भन्दा सिनियर हुन् । घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन समेत गरेको छ । निरीक्षक बेसिकको तालिम गर्दै आएकी महत गत शनिवार राती मृत भेटिएकी थिइन् । उनको घर सिन्धुपाल्चोक हो । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।
महतको शव पोस्टमार्टमको लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पुराइएको छ ।





