सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पिएनमा स्ववियुको नमूना मतदान

पिएनमा स्ववियुको नमूना मतदान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८१, मंगलबार

पोखरा/नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको तयारी स्वरूप विद्यार्थीहरूलाई मतदान अभ्यास गराएको छ । मंगलबार क्याम्पस गेटमा अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी पृथ्वीनारायण क्याम्पसले स्ववियु नमूना मतदान कार्यक्रम गरेको हो ।
बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फको स्ववियु मतदान तरिकाबारे जानकारी गराइएको थियो । क्याम्पसमा अध्ययनरत करिब १ हजार ३ सय जना विद्यार्थी नमूना मतदानमा सहभागी भएको आयोजक अनेरास्ववियु व्यवस्थापन संकाय अध्यक्ष कुशल रेग्मीले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने कार्यतालिका छ । विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र ढंगले विद्यार्थीहरू आन्तरिक तयारीमा जुटेका छन् ।

२०७३, २०७९ सालमा हुन नसकेको स्ववियु यसपटक जसरी पनि हुनुपर्ने पक्षमा आफूहरू रहेको अनेरास्ववियु क्याम्पस कमिटी संयोजक विराट दुवाडीले बताए ।
त्रिविअन्तर्गत देशकै ठूलो आङ्गिक क्याम्पस पृथ्वीनारायणमा २०६५ सालपछि स्ववियु निर्वाचन हुन सकेको छैन ।
नमुना मतदानको निरीक्षणमा अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकाया, स्थायी कमिटी सदस्य विजय पौडेल, केन्द्रीय सदस्य अनुप लामिछाने, विष्णु पोखरेल, विनय पराजुली, अनेरास्ववियु जिल्ला अध्यक्ष सन्तोष पोखरेललगायत पुगेका थिए ।
महासचिव रोकायाले पृथ्वीनारायण क्याम्पस आन्दोलनको उर्वर भूमि भएकाले त्यो विरासतलाई जोगाउनुपर्ने बताए । उनले पीएन क्याम्पसमा अनेरास्ववियुले हार्न नजानेको र अबको स्ववियु निर्वाचनमा पनि हार्ने छुट नभएको बताए । सोमबार पोखरा आएका रोकाया अनेरास्ववियुका कास्कीमा उपलब्ध विद्यार्थी नेताहरूसँग स्ववियु निर्वाचन केन्द्रीत भेलामा पनि सहभागी भएका थिए ।
स्ववियु निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका छ । पृथ्वीनारायण क्याम्पसमा करिब १२ हजार ५ सय मतदाता रहने अनुमान छ । मतदाता नामावली प्रकाशन भएपछि यो संख्या यकीन हुनेछ ।
पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका कास्कीका सोमनाथ अधिकारी प्रदेश प्रमुख, खगराज अधिकारी संघ सरकारको मन्त्री र गण्डकीको मुख्यमन्त्री भइसकेका छन् । पर्वतका पदम गिरी संघ सरकारको मन्त्री भए । कास्कीका राजीव पहारी २०७४ सालको निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भए । अर्का सभापति कास्कीका धनराज आचार्य हाल पोखरा महानगरपालिकाको मेयर छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->