बागलुङ/जलवायु परिवर्तनको असर न्युनिकरणका लागि नेपाल सरकारले राष्ट्रिय अनुकुलन कार्यक्रम बनाएपनि स्थानीय तहमा नीति र कार्यक्रम बन्न नसक्दा बजेट विनियोजनदेखि कार्यक्रम संचालनमा असर परेको छ । स्थानीय स्तरमा कार्बन उत्सर्जन कम गर्नेदेखि अनुकुलित विकास गर्ने कार्यक्रम संचालन हुन सकेका छैनन् ।
वडा स्तरमा संचालन हुने हरेक योजनामा वातावरण अनुकुलित काम गर्नुपर्ने आवस्यकता भएर पनि सो अनुसारको बजेट विनियोजन समेत नभएको हो । जलवायु परवर्तनका कारण विकासका संरचनामा समेत परिवर्तन गर्नुपर्ने अवस्था आएपनि अहिलेसम्म पुरानै ढर्रामा विकास भैरहेका छन् । त्यसैले वातावरण अनुकुलित बनाउनुपर्ने आवस्यकताबारे चासो बढेको छ ।
‘पहिला मुस्ताङमा पानी पर्थेन, त्यही अनुसार बनेका घरहरु केही वर्ष यताको वर्षात र बाढीले क्षति पुगेको छ’ गैसस महासंघ बागलुङका उपाध्यक्ष मणीभद्र शर्माले भने, ‘त्यसका लागि अनुकुलित योजना बन्न सकेका छैनन्, जसले गर्दा वर्षेनी क्षति बढ्ने दरमा छ ।’ मुस्ताङ र मनाङको जलवायु तत्काल देखिएपनि सबै स्थानमा अनावृष्टी, अतिवृष्टी, खण्ड वृष्टी हुँदा नसोचेका असरहरु परेको उनले बताए ।
गैसस महासंघले हरेक पालिका तहमा नीति निर्माण, योजना निर्माण र कार्यान्वयन गर्दा वातावरण अनुकुलित गर्ने, उत्थानशिल विकास गर्ने र कार्बन उत्सर्जनमा कमी ल्याउने खालका काम गर्नुपर्ने सुझाव समेत दिएको छ । बिहिबार महासंघले जैमिनी नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदसय र वडा सदस्य समेतलाई यो विषयमा अभिमूखीकरण समेत गराएको थियो ।
जिल्लाका १० पालिकासहित गण्डकी र बागमती प्रदेशका १९ जिल्लाका १ सय ५१ पालिकामा संचालित ‘जलवायु उत्थानशिल कार्य सुदृढीकरणको लागि सचेतना अभियान’ समेत संचालन भएको छ । त्यसका लागि गण्डकी जलाधार जलवायु उत्थानशिल आयोजना समेत संचालनमा छ ।
यो अभियानका लागि वन विभाग, एआइएनसी, आइयुसिएन, ग्रिन क्लाइमेट फन्ट र गैसस महासंघ सक्रिय छन् । संघिय तहमा बनेको कार्यक्रमलाई जनस्तरमा लगेर कार्यान्वयन गराउनका लागि पालिकाको नीति निर्माण तहलाई झकझक्याएको गैसस महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले बताए । ‘यो मानवजीवनकै अस्तित्व जोगाउने कार्यक्रम हो, तर त्यसका लागि राज्यका सबै तहले संवेदनशिल भएर काम गर्नुपर्छ’ सापकोटाले भने, ‘हामी यो अभियानमार्फत नीतिगत र कार्यक्रमबाट वातावरण अनुकुलित योजना संचालन होउन् भन्ने चाहन्छौं ।’
परियोजनाबारे अभिमूखीकरणपछि बोल्दै जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले मानिस र वनस्पतिको अस्तित्व जोगाउने कार्यक्रम भएपनि अहिलेसम्म नागरिक तहमा सचेतना फैलाउन नसकिएको बताए । ‘अब समयमा सोचेर यस्ता योजनामार्फत अनुकुलित विकास गर्नुपर्छ’ पुनले भने, ‘महामारीले एउटा गाउँका मानिस मर्लान्, तर वातावरण बिग्रीयो भने विश्वभरका मानव, जीव र वनस्पति समाप्त हुन्छन्, त्यसबारे सचेत हुनैपर्छ ।’ उनले अबका दिनमा वैदेशिक सहायताको खोजीभन्दा परम्परागत बिधिले अनुकुलित योजनामार्फत काम गर्नुपर्ने सुझाए ।
उपप्रमुख हरिहर शर्माले अन्तराष्ट्रिय मञ्चमा नेपालले गरेका हस्ताक्षर अनुसारका अनुदान पाउनुपर्ने बताए । ‘शक्ती राष्ट्रहरुले कार्बजन उत्सर्जन गर्दा नेपाल जस्ता देशहरुले अक्सिजन उत्सर्जन गरेर उनीहरुको असर न्युनिकरणमा भूमिका खेलेका छन्, त्यो क्षतिपूर्ति पाउनुपर्छ’ उनले भने, ‘स्थानीय तहमा पनि अनुकुलित योजनामा ध्यान दिनेछौं ।’ अब आश्रित बजेटभन्दा आफ्नो लगानीले बिपत न्युनिकरणमा लाग्ने उनले बताए । बिपत प्रतिकार्य योजनामा यो बिषय प्रवेश गरेको उनले दाबी गरे ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मिरादेवी शर्माले समुदायमा प्रचारप्रसार बढाउनुपर्ने र क्षेत्रीय प्रतिवद्दता अनुसारका क्षतिपूर्ति नेपालले पाउनुपर्ने बताइन् । ‘स्थानीय तहमा योजना बनाएर कार्यान्वयन गरेपनि शक्तीराष्ट्रले दिनुपर्ने अनुदान स्थानीय तहसम्म आउनुपर्छ’ उनले भनिन्, ‘स्थानीय योजना प्रभावकारी बनाउनुपर्ने आवस्यकता छ ।’ बालमैत्री, लैंगिकमैत्री र वातावरणमैत्री योजनामार्फत दिगो विकासको लक्ष्य पुरा गर्नुपर्ने समेत उनको धारणा छ । कार्यक्रममा जैमिनी वडा नं. ३ का अध्यक्ष हरिबहादुर भुजेलले उचाइ अनुसारको बाली उत्पादन हुन छाडेको भन्दै जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको समेत बताए ।





