बागलुङ/त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा निर्वाचन समिति गठन गरिएको छ ।
आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि धौलागिरि बहुमुखी क्याम्पसमा उपप्राध्यापक गोविन्दराज गौतम निर्वाचन अधिकृत रहेको निर्वाचन समिति गठन गरिएको हो । ५ सदस्यीय निर्वाचन समितिको सदस्यमा उपप्राध्यापक जोहन बज्राचार्य, उपप्राध्यापक शिवप्रसाद पौडेल, शिक्षण सहायक रामचन्द्र शर्मा र कार्यालय सहायक रामु आचार्य रहेको क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुदर्शन शिलवालले जानकारी दिए ।
त्रिवि कार्यकारी परिसदको निर्णय नं. ५ सय ६५ र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ अनुसार स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गर्नका लागि समिति गठन भएको उनले बताए ।
निर्वाचनको कार्यक्रमअन्तर्गत आगामी फागुन १९ गतेसम्म संघ÷संगठन दर्ता, २१ गते मतदाता नामावली प्रकाशन, २५ गते मतदाता उपर दाबी विरोधसंगै मतदाता उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशन, २६ गते प्रत्यक्ष तथा समानुपातिक उमेदवारका लागि मनोनयन पत्र वितरण, २७ गते उमेदवारको नामावली दाखिला गर्ने समय तोकिएको छ ।
त्यसैगरी फागुन २७ गते नै दुवै तर्फको उमेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उमेदवारको नामावली उपर दाबी विरोध र छानविन गरि नामावली प्रकाशन, २९ गते उमेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने र चैत ५ गते बिहान ८ देखि साँझ ४ बजेसम्म मतदान हुने क्याम्पसले जनाएको छ ।





