तस्बिर : तिलक मल्ल ठकुरी
बागलुङ/शुक्रबार दिनभर बागलुङ लगायत आसपासका जिल्लामा झरी प¥यो । निरन्तर झरीकै कारण पश्चिम बागलुङको ढोरपाटन, निसी र रुकुम सिमानाको पातीहाल्नेमा हिमपात भएको छ ।
बिहानैदेखि परेको हिउँले पहाडहरु सेताम्मे बनेको निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष हेमबहादुर बुढामगरले बताए । हिउँले मध्यपहाडी लोकमार्गको बागलुङ तर्फको झण्डै ७ किमी खण्ड ढाकीएको छ भने रुकुमतर्फ पनि हिमपात भएको हो । हिमपातका कारण उक्त सडक भएर सवारी समेत गुड्न सकेका छैनन् ।
हिमपातका कारण सडक ढाकीएकोले मध्यपहाडी लोकमार्गमा यात्रा गर्दा सचेतना अपनाउन प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले आग्रह गरेका छन् । रुकुमका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर रात्रीकालिन सवारीलाई रोक्ने प्रयास भएको पनि उनले बताए । हिमपात बाक्लिदै गएमा थप केही दिन सवारी आगामन रोक्नुपर्ने हुन सक्ने उनले बताए । तत्कालको आवस्यकता हेरेर मात्र यातायात संचालन गर्न सुरक्षा व्यवस्थापन गराइएको समेत सुवेदीले जानकारी दिए ।
चिप्लो र घुम्ती तथा भिरालोमा सडक भएकोले जोखिम मोलेर यात्रा नगर्न आग्रह गरिएको उनको भनाइ छ । स्थानीय प्रहरी चौकीका जवानले स्थलगत निरीक्षण गरेर हिमपातको जानकारी गराएको उनले बताए । लोकमार्गको यो खण्डको बाटो भएर रुकुम पूर्व र पश्चित तथा जाजरकोटबाट काठमाण्डौंसम्म छुट्ने रात्रीबस र अन्य सवारी पनि गुड्ने गर्छन् । हिमपातले खेतीपातीलाई राम्रो हुने र झरी समेत परेकोले केही दिनदेखि जमेको धुलो र धुँवा पनि कम हुने स्थानीयले बताए ।
झरी परेको बेलामा यात्रा गर्न केही कठिनाइ भएपनि किसान भने खुसी भएका छन् । ‘खडेरीले खेतीपाती मरिसक्न लागेको थियो, अब केही हुन्छकी भन्ने भएको छ’ बरेङ गाउँपालिकाका मदन केसीले भने । हिउँदे बालीहरुमा असर परिसकेको भएपनि बाँझो जोत्न र गहुँ लगायतको केही खेतीलाई भने अझै राम्रो हुने उनको भनाई छ । त्यसबाहेक पशु चरनका लागि घाँस पलाउने र आगलागी कमी गर्न पनि सहयोग पुग्ने भएकोले यो झरीले फाइदा पुगेको किसानहरु बताउँछन् ।





