पोखरा/नाम रुपेन्द्र जिसी । उमेर ३१ वर्ष । पेशा आइटी इन्जिनियर । काम गर्ने स्थान ः अमेरिका । यो एक इन्जिनियरको सामान्य परिचय हो । एक महिनाअघि मात्रै छुट्टीमा नेपाल आएका रुपेन्द्र विगत १० वर्षदेखि अमेरिकामा छन् । उनले आइटीमै पिएचडी पनि गर्दैछन् । यी सबै कुरा जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार सार्वजानिक गर्दा देखाएको कुरा हो । रुपेन्द्र नेपाल आएर छुट्टी मनाउँदै उनले नेपालमा गैरकानूनी रहेको क्रिप्टो करेन्सी, कारोबार र अनलाइन जुवा खेलाए । त्यो कुरा प्रहरीले चाल पायो र उनी पक्राउ परे । उनीसंगै प्रहरीले उनका अन्य चार जना नातेदारलाईसमेत पक्राउ गरेको छ । प्रहरीले उनीसहित ५ जनालाई यही फागुन २३ गते पोखरा १४ चाउथेको अनुपम टोलबाट पक्राउ गरेको हो ।
रुपेन्द्रको घरमा शंकास्पद कार्य भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाकै नेतृत्वले शूक्ष्म अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । रुपेन्द्र पर्वत जलजला गाउँपालिका ३ का भएपनि उनी चाउथे बस्दै आएका थिए । यस्तै प्रहरीले म्याग्दी घर भइ चिप्लेढुंगामा फेन्सी पसल गर्दै अँइरहेका रुपेन्द्रका फूपुको छोरा ३३ वर्षे विक्रम बानियाँ, स्नातक पढ्दै गरेका रुपेन्द्रका सानीआमाका छोरा रघुगंगा २ घर भइ त्यहीँ बस्दै आएका रोजन केसी, फूपुकै छोरा स्नातक चौथो वर्षमा रहेका २२ वर्षका सज्जन घिमिरे र बहिनी ज्वाइँ फुटस्टेप कन्सल्टेन्सी सञ्चालक २८ वर्षीय सन्दीप कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु सबै आफन्त हुन् । लामो समयदेखि अवैध काममा रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ तर प्रहरीलाई भने यो मुद्दाले टाउको दुखेको छ ।
इलेक्ट्रोनिक डिभाइसहरुबाट काम गर्ने भएकाले प्रहरीले पनि यसलाई सोही अनुसार अनुसन्धान गर्नुपर्ने देखिएको छ, जुन कास्कीमा सम्भव छैन । अनुसन्धानका लागि डिजिटल फरेन्सिक ल्याब काठमाडौं पठाउनुपर्ने हुन्छ । ‘यो निकै भाष्ट छ, प्रविधिको प्रयोग यसमा छ, यतिधेरै डिभाइसहरु छन्, यसलाई डिजिटल फरेन्सिक ल्याब लगेर परीक्षण गर्नुपर्ने आवश्यकता छ । यसबाट दुई दिनमै सबै कुरा निकाल्न सक्दैनौं । हामीसँग अनुसन्धान गर्ने अवधि छ । त्यो समयसम्म के निकाल्न सकिन्छ । त्यो निकाल्ने प्रयास गर्छौँ,’ एसपी ओलियाले भने । मुद्दाको प्रारम्भिक अनुसन्धानमै रुपेन्द्र अमेरिका हुँदैदेखि नै यो अवैध काम गर्दै आइरहेका थिए । उनले पोखरामा विक्रम र सन्दीपको सहयोगमा काम गर्दै आइरहेका थिए । विक्रम र सन्दीपले म्यानेजिङ लेभलको काम गरेका छन् । यी दुईले यहाँ रहेकाहरुलाई क्रिप्टो करेन्सीमा संलग्न गराउने र अनलाइनमा हुने सबै हिसाबकिताब राख्दै आएका थिए ।
रोशन र सज्जन रुपेन्द्रकै घरमा बसेर २४ सै घण्टा सिफ्ट बनाएर अनलाइनमा काम गर्दै आइरहेका थिए । ग्राहकले कति राख्यो र कति राख्ने सबै उनीहरुले हेर्दै र अपडेट गराउँदै आएको एसपी ओलियाले सुनाए । उनीहरुको दुई गेमिङ प्ल्याटफर्म रहेकोसमेत भेटिएको थियो । उनीहरुले १० डलर हालेमा ११ डलर अपलोड गरिदिने, २० डलर ग्राहकले हाले २२ डलर हालिदिने गर्दै आइरहेका थिए । त्यस समय उनीहरुलाई कोइन आउने गर्दथ्यो त्यहीँबाट उनीहरुले बढाएर हाल्ने गरेको खुलेको छ । त्यसबाट हारजित भएको रकम क्रिप्टोमार्फत् ग्राहकको खातामा राख्ने काम गर्दै आइरहेका ओलियाले बताए । ‘आफ्नै घर परिवारका सदस्य भयो भने बाहिर कसैले थाहा पाउँदैन र सुरक्षित भइन्छ भन्ने तरिकाले यो गरेको देखिन्छ । शंकास्पद गतिविधि भएको सूचना पहिला नै आएको थियो । त्यही सूचनाको आधारमा हामीले खानतलासी गर्दा पक्राउ गरेका हौँं’ उनले भने ।
पक्राउ परेका व्यक्तिहरुले आफ्नो तथा आफन्तको नाममा विभिन्न बैंकहरुमा खाता खोली कारोबार गर्ने गरेको पाइएको पनि प्रहरीको दाबी छ ।
उनीहरुले प्रयोग गर्ने ह्वाट्स एप, क्यास एप,टेलिग्राम,चिम एप,युएसडीटी (टीथर) हेर्दा यस्तो कारोबार भेटिएको हो । ह्वाट्सएप र टेलिग्राम अनलाइन संवाद गर्ने एप्सहरु हुन् भने क्यास एप र चिमे एप चाहिँ पैसा पठाउन वा लिन मिल्ने विद्युतीय वालेट (थैली) हुन् । टीथर आफैंमा क्रिप्टोकरेन्सी हो ।
क्रिप्टो करेन्सी कारोवार, अनलाइन जुवा÷ सट्टावाजी मा प्रयोग गरिएको भनिएका विभिन्न ईलेक्ट्रोनिक डिभाईस बरामद गरेको छ । नेपालमा अवैध रहेको उक्त कारोवारमा प्रयोग गरिएका मोवाइल ३१ थान, कम्प्युटर मनिटर दुई थान, सीपीयू ३, ल्याप्टप ४, आइप्याड २, किवोर्ड २,माउस १, राउटर ४, पेनड्राइभ ३, हार्डडिक्स १, मल्टिपल्क १, चार्जर ११, युएसबी पोर्टसहितको स्टेन्ड १, स्ट्याम्प छाप १ र नगद रु ७२ हजार पाँच सय रुपैयाँ बरामद गरेको छ ।
रुपेन्द्र बस्ने देशमा क्रिप्टो वैध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानकै क्रममा क्रिप्टोलाई वैधता दिने घोषणा गरेका थिए । राष्ट्रपतिमा चुनिए लगत्तै उनले आफ्नै नामको विद्युतीय पैसा (क्रिप्टो) समेत बजारमा ल्याइसकेका छन् । उनले भर्खरै अमेरिकालाई विश्वको क्रिप्टो राजधानी बनाउने घोषणामात्र गरेका छैनन्,क्रिप्टो सम्मेलनसमेत आयोजना गरिसकेका छन् ।
दोषी ठहर भए रुपेन्द्रलाई के सजाय हुन्छ ?
नेपालमा विदेशी मुद्राको अपचलनलाई अवैध मानिन्छ । विदेशी मुद्रा विनिमय–नियमित गर्ने ऐनले यस्तो अपराधमा संलग्नलाई विदेशी विनिमय जफत गरी त्यस्तो व्यक्तिलाई बिगो बमोजिमको जरिबाना देखि बिगोको तीन गुणासम्म थप जरिवाना हुने व्यवस्था गरेको छ । त्यसो हुँदा यो समूहले ३० करोडको तीन गुणा रकम तिर्नुपर्ने हुनसक्छ । पछिल्लो समय चाहिँ सम्पत्ति शुद्धीकरणअन्तर्गत पनि क्रिप्टो कारोबारलाई कारवाही गर्न सक्ने प्रावधान राखिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उपदफा १ मा उल्लेख भए अनुसार त्यस्तो कसूरमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवानाको व्यवस्था गरिएको छ ।
मुलुकी अपराध संहिताले ‘विदेशीमुद्रा राख्ने, चलनचल्तीमा ल्याउने वा लेनदेन गर्ने कसुरमा एक वर्षसम्म कैद वा १० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुनसक्ने’ भनेको छ । नेपालमा क्रिप्टो सम्बन्धी कारोबार गर्नेहरूलाई राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन शीर्षकमै मुद्दा चलाउने गरेको छ । अहिले रुपेन्द्रको हकमा चाहिँ अवैध जुवा–सट्टबाजीको पनि कसूर लगाइएको छ । यो कसूरमा दोषी भए पनि तीन महिना कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ । मुलुकी अपराध संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ ।





