सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

कोटीहोम नरोकिने, बैकल्पिक स्थान खोजिने

कोटीहोम नरोकिने, बैकल्पिक स्थान खोजिने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०८१, सोमबार

पोखरा/  पोखरा महानगरपालिकाले मानव सेवा फाउण्डेसनलाई कोटिहोम गर्न दिने निर्णय गरेको छ । सोमबार पोखरा महानगरपालिकामा बसेको जिल्ला प्रशासन कार्यालय कास्की, महानगर र कोटीहोम आयोजक मानवसेवा फाउन्डेशनबीचको त्रीपक्षीय बैठकले कोटिहोम गर्न दिने तर स्थानको भने बिकल्प खोज्ने सहमति गरेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, पोखराका मेयर धनराज आचार्य, तीनवटै सुरक्षा निकाय र आयोजक मानवसेवा फाउण्डेसनका तर्फबाट पाँच सदस्यिय टोलीबीच छलफल भएको थियो ।

बैठकले कोटिहोममा महानगरपालिकाले पनि अपनत्व लिने निर्णय गरेको विश्वहिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले बताएका छन् । स्थान विशेषमा केही विवाद देखिएकोले मंगलबार हुने महानगरको नियमित कार्यपालिका बैठकले छलफल गरेर यस विषयको टुंगो पनि लगाउने छ । कार्यपालिका बैठकले ५ सदस्यीय विवाद समाधान समिति बनाउने निर्णय पनि भएको छ । समितिमा आयोजकका तर्फबाट २ जना, जिल्ला प्रशासनबाट एक र महानगरबाट दुइजना सदस्य रहनेछन । यही समितिले तोकेको स्थानमा कोटिहोम हुनेछ ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले वार्ता सकरात्मक भएको बताए । दुवै पक्ष सहमतिमा पुगेर एउटा प्रक्रियामा लैजाने भन्ने भएको भन्दै उनले यसका लागि भोली मंगलबार पनि बैठक बस्ने जनाए । ‘के कसरी जाने भनेर भोली फेरी बैठक बस्छ’, पाण्डेले भने, ‘वार्ता सकरात्मक छ । केकस्तो प्रक्रियामा जाने भनेर भोली बैठक बस्न लागिएको हो ।’

पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बैठकमा हालसम्मका गतिविधिमा छलफल र समीक्षा गरिएको बताए । ‘अहिले कोटिहोम गर्ने भनिएको स्थानको बिकल्प खोज्न एउटा समिति बनाएर जाने भन्ने निर्णय भएको छ’, उनले भने, ‘सोही समितिले तोकेको स्थानमा कोटीहोम हुनेछ ।’ मानव सेवा फाउन्डेशनले लेकसाइडको बाराही घाटमा कोटीहोम लगाउने कार्यक्रम अघि सारेको छ । तर त्यहाँ कुनै पनि हालतमा हुन नदिने अडानमा महानगर रहदै आएको छ । यस विषयमा फाउन्डेशन र महानगरबीच जुहारी चल्दै आएको थियो । साथै फागुन २३ मा भूमीपूजा गर्ने क्रममा नगर प्रहरी र फाउन्डेशनबीच झडप पनि हुन पुग्यो । कोटीहोम रोक्न नपाईने भन्दै आइतबार पोखरामा रहेका विभिन्न धार्मिक संघसंस्थाले पोखरा महानगरपालिकाको कार्यालय अगाडी धर्ना पनि दिएका थिए । धर्नापछि कास्कीका प्रजिअ पाण्डेको पहलमा आज त्रिपक्षीय वार्ता भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->