पोखरा/गत शुक्रबार लेकसाइडको बाराहीघाट रणभूमि बन्न पु्ग्यो । दुवैपक्षको दाबी अनुसार त्यो झडपमा २४ जना घाइते भए । महानगरले विज्ञप्तिमार्फत् ११ जना नगरप्रहरी घाइते भएको जनाएको छ । मानवसेवा फाउण्डेसनले १३ जना आफ्ना मान्छे घाइते भएको विवरण दिएको छ ।
फलामे रड, लौरो, ढुंगा प्रहारबाट रक्ताम्य बनेको बाराहीघाटको विवादको अब भने अन्त्य भएको छ । महानगर बाराहीघाटबाहेक अन्यत्र कोटीहोम आयोजनाको स्वीकृति दिन सहमत भएको छ भने त्यसमा आयोजकले पनि सहमति जनाएको छ ।
यही निर्णय यही टिम बसेर पहिले नै गरेको भए न नगरप्रहरी कुटिन्थे, न स्थानीयले पिटिनु पथ्र्यो । पोखराको कोटिहोम विवादमा लामो समयदेखि महानगर र आयोजकबिच जुहारी चल्दै आएको थियो ।
यो विवाद अनुमति माग्नेदेखि लिएर अनुमति दिएको छैन भन्नेसहित अदालत नै पुग्यो । पछिल्लो महिनामा विवाद चर्किँदै जाँदा त्यो झडपमा नै परिणत हुनपुगेको थियो । यो विवादमा आउनुको मुख्य घटनाचाहिँ एउटा ऐतिहासिक रुखको ठुटो तस्वीर सार्वजनिक थियो र त्यो चाहिँ मानवसेवा फाउण्डेसनले आयोजना गरेको कोटिहोममा समिदाका लागि काटिएको थियो । त्यसलाई अगाडि बढायो, सामाजिक सञ्जालले ।
त्यसपछि स्थानीय सरकारले आलोचना सहन सकेन, मानवसेवा फाउण्डेसनले काटेको हो भनेर दोष थुपार्नेतिर लाग्यो । त्यसपछि आयोजकले पनि हामीले अनुमति लिएर काटेका हौँ भनेर पत्र सार्वजनिक ग¥यो ।
जवाफको प्रतिजवाफ जुहारीतर्फ अगाडि बढ्यो । महानगरका मेयर धनराज आचार्यले ‘कोटीहोम कुनै हालतमा हुँदैन, हामीले अनुमति दिएका छैनौँ भने । कोटिहोमले वातावरण प्रदूषण हुन्छ, यसले हवाई उडानमा असर पु¥याउँछ’ भन्ने अभिव्यक्ति दिए ।
समिधाका लागि संकलन गरिएका ५० टन दाउरा महानगरले जफत ग¥यो । जबकि वडा नं. ६ ले बाराहीघाटमा कोटिहोम गर्न अनुमति मात्र दिएको थिएन, राजस्व पनि उठाइसकेको थियो । आफ्नै वडाको निर्णय बदर गर्न कार्यपालिका बैठकबाट अर्को निर्णय गरियो । यसबाहेक वडा नं. ६, १३ र १४ मा रुख काट्न वडा र टोल विकास समितिले अनुमति दिएका थिए ।
यता, मानवसेवा फाउण्डेसनका संस्थापक विजय भण्डारीले पनि धर्मका लागि अधर्म गर्न तयार छु, बाराहीघाटमा नै कोटीहोम गर्न कसैले रोक्न नसक्ने अभिव्यक्ति दिए । सुरुमा रुख कटानबाट सुरु भएको कोटिहोम विवाद यहाँदेखि भने व्यक्तिगत ‘इगो’ को रुपमा देखिन थाल्यो ।
महानगरले कार्यपालिका बैठकबाट निर्णय गरेर कोटीहोम गर्न नदिने निर्णय ग¥यो । कोटिहोमको लागि अनुमति दिएको नेपाल ट्रष्टलाई पनि सहमति रोक्न आग्रह गर्ने निर्णय ग¥यो । तर, ट्रष्टले मानेन । आफ्नो सम्पत्ति भाडामा दिँदा अरुलाई सोध्न नपर्ने जवाफ पनि दियो ।
महानगरको निर्णयविरुद्ध आयोजक उच्च अदालत पुग्यो । अदालतले फागुन १ गते कोटिहोम नरोक्न अन्तरिम आदेश दियो ।
नेपाल ट्रष्टबाट तीतो जवाफ पाएको महानगरलाई उच्चले अर्को झट्का दियो । आदेश एकपक्षीय भन्दै महानगरका मेयर धनराज आचार्य स्वयं वारेसमार्फत् ११ फागुनमा उच्च अदालत पुगे । उनले अदालतको आदेश एकपक्षीय रहेको हुँदा खारेज गर्नुपर्ने माग राखेका थिए ।
तर, अदालतले यहाँपनि उनलाई साथ दिएन । कोटिहोम नरोक्नु भन्ने पुरानै आदेशलाई निरन्तरता दियो ।आयोजकले चाहिँ फागुन २३ गते साइत जुरेको हुँदा भूमिपूजन कार्यक्रमको तयारी थाल्यो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही मितिमा साइत दिएको थियो ।
भूमिपूजन रोक्नकै लागि २३ गते बिहान अचानक कार्यपालिका बैठक डाकियो । कार्यपालिका सदस्यहरुलाई महानगरले बैठकको लागि भनेर बिहीबार राति १० बजेतिर सूचना पठाएको थियो ।
कार्यपालिकाबाट यो निर्णय गराएर केही वडाध्यक्षसहित नगरप्रहरीहरु महायज्ञस्थल बाराहीघाट पुगे ।भित्र भूमिपूजन कार्यक्रम चल्दै थियो । नगरप्रहरी पुगेर टेबुल उठाउन थाले ।
आयोजक पक्ष पनि भिड्नको लागि तम्तयार थियो । उनीहरुले नगरप्रहरीको प्रतिकार गरे ।
स्थिति तनावग्रस्त बन्न पुग्यो । भूमिपूजन रोक्नका लागि महानगरले स्थानीय प्रशासनको पनि साथ खोजेको थियो । तर, नेपाल प्रहरीले महानगरलाई साथ दिएन । नगरप्रहरीलाई बाराहीघाट स्थलबाट बाहिर निस्किएपछि भूमिपूजन सम्पन्न भयो । गेटको बाहिरपट्टि रहेका नगरप्रहरी आफ्नो गाडी लिन भित्र पस्न खोजे । भित्रपट्टि रहेका स्थानीय युवाहरुले भित्र आउन दिएनन ।
त्यो धकेलाधकेल अचानक झडपमा परिणत हुन पुग्यो । जहाँ २४ जना घाइते हुन पुगे । प्रहरीले भने १३ जना घाइते रहेको विवरण उपलब्ध गराएको थियो । स्थिति छिनमै युद्धभूमिजस्तो देखिन थाल्यो ।
कोटिहोमको उत्कर्ष बनेको त्यो झडपपछि अब के हुन्छ भन्ने अन्योलता नै थियो । त्यो झडपले धेरै पक्षको भूमिकामाथि प्रश्न उठ्यो, प्रशासन मुक भएको आरोप लाग्यो । झडप पहिला कसले सुरु ग¥यो भन्ने बहस उठ्यो । पोखराले दिने सन्देशमाथि चिन्ताहरु पोखिए । यतिसम्म कि धार्मिक साम्प्रादायिकता खलल हुने तरिकाबाट टिकाटिप्पणी उठ्न थाले । धार्मिक द्वन्द्व निम्तिने खतरा बढ्यो ।यही झडपपछि, सोमबार जे निर्णय भयो, झडप हुनुभन्दा अगाडि नै हुनुपथ्र्यो ।





