सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पोखराले फोहोर पानी प्रशोधन गर्ने

पोखराले फोहोर पानी प्रशोधन गर्ने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८१, मंगलबार

पोखरा/पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन गर्नका लागि गुरुयोजना तयार भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका),याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड,निहोन सुइडो कम्पनी लिमिटेड र एनजेएस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा महानगरले गुरुयोजना तयार पारेको हो ।
पोखरा महानगरपालिकाका चार वटा क्षेत्रहरूमा प्रशोधन केन्द्रहरू नै निर्माण गरी फोहोर पानी प्रशोधनमार्फत् पुन प्रयोगका लागि योग्य बनाएर नदी तथा तालहरूमा छोडिने गुरुयोजनामा उल्लेख छ । महानगरको पश्चिम क्षेत्र, मुख्य सहरी भाग, हेमजा क्षेत्र र पूर्वी भागमा फोहोर पानी प्रशोधन केन्द्रहरू स्थापना गरिनेछन् । यी केन्द्रमार्फत् प्रतिदिन १ लाख ३४ हजार घनमिटर पानी प्रशोधन हुनेछ ।
गुरुयोजना अनुसार पानी प्रशोधन क्षेत्रका लागि पाइपलाइन योजना विकास र सबै प्रणालीहरूमा छुट्टाछुट्टै ढलहरू प्रयोग हुनेछ । दुर्गम भूभागहरूमा पानी सङ्कलनका लागि विभिन्न स्थानहरूमा पम्प स्टेसन र म्यानहोल पम्प जडान गर्ने योजना रहेको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए । प्रमुख आचार्यका अनुसार परियोजनामा करिब ११ अर्ब रुपैयाँ खर्च हुनेछ । प्रशोधन केन्द्र बनेपछि वातावरणीय स्वच्छता प्रवद्र्धनमा सहयोग पुग्ने उनले बताए ।
‘हामीले आकाशबाट पर्ने पानी, भान्साबाट निस्कने पानी, बाथरुमबाट निस्कने पानीलगायत ढलमा मिसाइएका कुनै पनि चिजलाई यत्तिकै छोड्न मिल्दैन,’उनले भने,‘ यसले वातावरण प्रदूषण भइरहेको छ, भन्ने विश्वव्यापी रूपमा नै चिन्तन भइरहेका बेला पोखराका विभिन्न चार स्थानमा केन्द्रहरु निर्धारण गरी जाइकाले यसमा सहयोग गर्ने भएको हो । जानेर वा नजानेर हाम्रा ढलहरू सिधै खोलामा मिसिने गरेका छन् । अब यो योजना अनुसार फोहोर पानीलाई प्रशोधन गरेरमात्र खोलामा मिसाइनेछ ।’
दिगो विकासको लक्ष्य अनुसार सन २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यो लक्ष्य भेट्नलाई पनि यो परियोजना पोखराका लागि महत्वपूर्ण रहेको नगर प्रमुख आचार्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->