सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

ढोरपाटनकर्मी रेग्मीलाई फोनिज गण्डकीको पत्रकारिता पुरस्कार

ढोरपाटनकर्मी रेग्मीलाई फोनिज गण्डकीको पत्रकारिता पुरस्कार


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०८१, बुधबार

पोखरा/नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ गण्डकी प्रदेशले सुरु गरेको ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ ढोरपाटनकर्मी संजय रेग्मीलाई प्रदान गरिएको छ ।
समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको सम्मान एवं स्वर्गीय मित बुबा सूर्यप्रसाद मलेपति श्रेष्ठ ‘मिलन’ को स्मृतिमा स्थापना गरेको पुरस्कारबाट रेग्मीलाई सम्मान गरिएको हो ।
पोखरा र पर्वतमा रहेर करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका रेग्मीले आदिवासी जनजातिहरूको उत्थानका लागि तथा उनीहरूका परम्परागत सीप, शैली, कलालगायतका विषयमा लेख्ने गरेका छन् । सोही मूल्याङ्कनको आधारमा ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ पहिलो पुरस्कार नै उनलाई प्रदान गरिएको फोनिज गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष रुद्रबहादुर श्रीसमगरले बताए ।
बुधवार पोखरामा आयोजित फोनिज गण्डकी प्रदेशको तेस्रो प्रादेशिक महाधिवेशनको समुद्घाटन तथा मिलन पत्रकारिता पुरस्कार २०८१ को अर्पण समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले सम्मान गर्दै पुरस्कार हस्तान्तरण गरेका हुन् । जनजातिको मौलिक चलनको रूपमा रहेको फेटा र भाङ्ग्रासहित सम्मान पत्र र पुरस्कार स्वरूप नगद २० हजार पाँच सय ५५ रुपैयाँ रेग्मीलाई प्रदान गरिएको हो ।
पुरस्कार लागि व्यक्तिको छनोट समितिका संयोजक तथा फोनिज गण्डकी प्रदेशका इन्चार्ज एम.बी.आस्था मगरले फोनिज गण्डकी प्रदेशबाट सञ्चालन हुने गरी गण्डकी प्रदेश स्तरमा पत्रकारिताको क्षेत्रबाट आदिवासी जनजातिको आवाज मुखरित गर्ने एक जना क्रियाशील युवा पत्रकारलाई सम्मान गर्ने विधान अनुसार रेग्मीलाई छनोट गरिएको बताए ।
अधिवेशन तथा सम्मानको अवसरमा बोल्दै मन्त्री गुरुङले आदिवासी जनजाति महासघंको पुरस्कार गैर जनजाति पत्रकारलाई प्रदान गरेर सामाजिक एकताको प्रयास गरेको भन्दै खुसी व्यक्त गरे । गैर जनजाति पत्रकारहरूले पनि जनजातिहरूका विषयमा कलम चलाउने गरेकाले त्यस्ता व्यक्तिहरूलाई सम्मान गर्नुले असल अभ्यासको थालनी भएको उनको भनाई छ । चार वर्ण ३६ जातको साझा फूलबारी निर्माण गर्ने र एउटै नेपाल बनाउने पृथ्वीनारायण शाह गण्डकी प्रदेशकै रहेको बताउँदै मन्त्री गुरुङले विविधतामा नै एकता हुनु राम्रो उदाहरण भएको बताए ।
अर्को प्रसङ्गमा बोल्दै उनले समाजलाई बिगार्न खोज्ने केही व्यक्तिहरूको आतङ्कका कारण देशमा अहिलेको अवस्था सृजना भएको बताएका छन् । नेपालको वर्तमान राज्य व्यवस्था संसारकै उत्कृष्ट मोडलको रहेको भन्दै उनले समाजमा अराजकता फैलाउनेहरूले गरेका सामान्य गतिविधिमा अत्तालिनु नपर्ने बताए ।
यसैबिच, फोनिज गण्डकी प्रदेशको तेस्रो महाधिवेशनबाट खिमा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। १५ सदस्यीय कार्यसमितिको उपाध्यक्ष (खुल्ला) मा धनबहादुर गुरुङ, उपाध्यक्ष (महिला) मा शिला गुरुङ, महासचिवमा सुरज थापा मगर, सचिव (खुल्ला) मा दिल प्रसाद गुरुङ, सचिव (महिला) कला राना, कोषाध्यक्षमा सुमन थापा मगर चयन भएका छन्। यस्तै सदस्यहरूमा यमबहादुर सोमै मगर, खडक बहादुर आले, मनप्रसाद गुरुङ, चेतबहादुर थापा प्रवीण, कविता घर्ती, चन्द्र कुमारी महतो, पुनम थापा मगर र कृष्ण श्रेष्ठ (रोजी) सर्वसम्मत भएका छन् ।
सङ्घीय प्रतिनिधिमा रुद्र श्रीस मगर, रत्ना गुरुङ र सुशान्त गाहा मगर चयन भएका छन् भने प्रदेश समितिले बागलुङका यामबहादुर थापालाई पनि सङ्घीय प्रतिनिधिमा मनोनितका लागि सिफारिस गर्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->