बागलुङ/बागलुङ दुग्ध उत्पादक सहकारी संघ बागलुङले दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी पाँच दिने तालिम शुरु गरेको छ । सहकारी संस्थाका पदाधिकारी, कर्मचारी र वितरकका लागि तालिम संचालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख प्रेम अर्यालले मानव स्वास्थ्यको लागि नभै नहुने दुध र दुग्धजन्य पदार्थको उत्पादन र प्रशोधन प्रभावकारी बनाईनुपर्ने बताए । दुध उत्पादनमा ध्यान पुर्याउन सकिएन भने मानव स्वास्थ्यमा नकरात्मक असर पर्न सक्ने चर्चा गर्दै आर्यालले दुध उत्पादन र प्रशोधन गर्दा राज्यले निर्धारण गरेका नियमलाई पुर्ण पालना गर्नुपर्नेमा जोड दिए ।
तालिमका प्रशिक्षक डा. अपार पौडेलले दुध र दुग्धजन्य पदार्थको बजार व्यवस्थापनका लागि विविधिकरणमा जानुपर्ने बताए । उनले मानव स्वास्थ्यमा हानि पुग्ने गरी दुधमा कुनै पनि प्रकारका मिसावट राख्न नमिल्ने बताए ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले आम उपभोक्ताको हितमा दुध र दुग्धजन्य पदार्थका कारण कुनै पनि असर नपरोस् भन्ने उदेश्यले तालिमको आयोजना गरिएको जानकारी दिए । दुग्ध उत्पादक सहकारी संघलाई अझै व्यवस्थित र प्रभावकारी बनाई उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि सबैसंग सहकार्य र समन्वय भईरहेको गौतमले बताए ।
कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, सचिव गोविन्द प्रसाद सापकोटाको संचालन र कोषाध्यक्ष रामचन्द्र सापकोटाको स्वागतमा सम्पन्न भएको थियो ।





