पोखरा/ नेकपा एमाले वडा कमिटी पोखरा १७ ले आजदेखि संङगठन विस्तारका लागि टोलकेन्द्रीत जरा अभियान सञ्चालन गरेको छ । एमालेका नेता तथा कार्यकर्ता एवम् जनप्रतिनिधिसहित जनताको घरघर पुगेर स्थानीय समस्या पहिचान गरि समाधान गर्दै पार्टीलाई जनतासंग जोड्ने अभियानमा जुटेका हुन ।
पार्टी जनसंगठन तथा नयाँ पार्टी सदस्यता विस्तार र नविकरण गर्दै वडा तहमा पार्टीको उपस्थितिलाई मजवुद बनाउने उदेश्यका साथ अभियानमा जुटेको एमाले १७ का वडा अध्यक्ष विक्रम गुरुङले बताए । उनका अनुसार कास्की जिल्ला कमिटीको सर्कुलर अनुसार काउसेघारीस्थित हरियाली टोल कमिटीबाट शुरु गरिएको अभियान चैतको ११ गते विरौटा केन्द्रटोल कमिटीमा पुगेर समापन हुनेछ । वडामा कूल १६ वटा टोल कमिटी रहेका छन् ।
अभियानका क्रममा पार्टी नेता तथा कार्यकर्ताको एक टोलीले काउसेघारीस्थित पक्षघात भई लामो समयदेखि विरामी हुनु भएका अग्रज नेता चम्पासिंह गुरुङको घरमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । सो अवसरमा गिता गुरुङको अध्यक्षतामा २९ सदस्यीय नेकपा एमाले हरियोली टोल कमिटी काउसेघारी गठन गरिएको छ । नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले नवगठित टोल कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै यस क्षेत्रको विकास निर्माणमा पार्टी जिम्मेवार भएर लाग्ने विश्वास व्यक्त गरे ।
पार्टी वडाअध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एवम् वडा इञ्चार्ज सुभाष ढुङगाना, जनप्रतिनिधि विष्णुमाया भुजेल, स्थानीय सन्तोष गुरुङ, होमवहादुर कुँवर र वडा सचिव उत्तम सिग्देल, टोल कमिटी अध्यक्ष गिता गुरुङ लगायतले स्थानीय समस्या, पार्टीको विचार, सिद्धान्त र अभियानको उदेश्यवारे जानकारी गराएका थिए ।





