सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सार्वजनिक जग्गा अतिक्रमणकारीद्वारा वडाध्यक्षमाथि आक्रमण प्रयास

सार्वजनिक जग्गा अतिक्रमणकारीद्वारा वडाध्यक्षमाथि आक्रमण प्रयास


  • ढोरपाटन संवाददाता
  • चैत्र ३ २०८१, आइतबार

पाेखरा/ सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइरहेका पोखरा–२१ बाँझीचौरका ठूलो भूपेन्द्र गिरीले वडाध्यक्ष, नगर प्रहरीमाथि आक्रमण प्रयास गरेका छन् । वडाध्यक्ष दिपक सुवेदीका अनुसार गिरीले उक्त सार्वजनिक जग्गामा एउटा ट्रष्ट बनाउन लागेका थिए । त्यसपछि एक साता अघिदेखि संरचना नबनाउन भनिएको थियो । गिरीले बनाउदिन पनि भनेका थिए । तर रातीराती संरचना बनाउन थालेपछि शनिवार नगर प्रहरी, वडाका प्रतिनिधि र टोल बिकास संस्थाका पदाधिकारी लिएर वडाध्यक्ष सुवेदी उक्त संरचना हटाउन पुगे ।

त्यसक्रममा गिरीले वडाध्यक्ष सुवेदीलाई केही काम छ भनि एकान्ततर्फ लगेर रड प्रहार गरी आक्रमण प्रयास गरेको सुवेदीले बताए । ‘सार्वजनिक जग्गामा संरचना नबनाउन पटकपटक भनेका थियौ’ सुवेदीले भने, ‘तर अटेर गरेपछि हटाउन गएका थियौ । उल्टै आक्रमण प्रयास भयो ।’ गिरीबिरुद्ध आज आइतबार प्रहरीमा जाहेरी दिने तयारी भएको सुवेदीले बताए ।

यसैबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त घटनालाई निन्दनीय भनेका छन् । सामाजिक संजाल फेसबुकमा उनले हामी सबैलाई हार्दिक अनुरोध गर्दछौं कि सार्वजनिक सम्पत्तिको संरक्षण र विकासमा सहकार्य गरौं भन्ने पनि लेखेका छन् । ‘पोखरा उपत्यका नगर बिकास समितिले सरकारी जमिनको श्रेस्ता तयार पारेर, महानगरभित्रका चौर, पाटन, पोखरी तथा सार्वजनिक जमिनलाई एकिकृत र संरक्षण गर्ने अभियान चलाई रहेको छ। यस कार्यलाई सफल बनाउन, सबै सरोकारवालाले आफ्नो योगदान पुर्‍याउनु हुन अनुरोध गर्दछौ,’ आचार्यले भनेका छन्, ‘यसै क्रममा पोखरा– २१ मा सार्वजनिक जमिनमा अतिक्रमण गरी संरचना बनाएको खवर पश्चात सो संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा अटेर गरि उल्टै नगर प्रहरी, वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरूमाथि हातपात र आक्रमण हुनु निन्दनीय छ। यस गलत काम विरुद्ध कानुनी कारबाही सुनिश्चित भइरहेको छ। यस्ता घटनाले विकास र न्यायको मार्गमा ठूलो अवरोध सिर्जना गर्छन्।’ आचार्यले जनसमुदाय, स्थानीय प्रशासन र सबै सरोकारवालालाई अनुरोध गर्दै आआफ्नो भूमीका निभाई सार्वजनिक सम्पत्तिको संरक्षण र विकासमा सक्रिय सहभागिता जनाउँदै, सहकार्यको माध्यमबाट हाम्रो शहरलाई उज्जवल र समृद्ध बनाउन हातेमालो गरौं पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->