बागलुङ/ पानी अभावले गाउँका शौचालयसमेत प्रयोगमा नआउने बागलुङ नगरपालिका–१४ नारायणस्थानमा अहिले भने घरघरमा धारा बनेका छन् ।
खोल्साखोल्सीमै दिसापिसाबले दुर्गन्ध हुने गाउँ सफा बनेको छ । घरघरमा आधा गाग्री माटोसहितको पानी भित्रिने स्थानमा आँगनको धारामा थापेर राख्न सकिने भएको छ । फोहोर पानीले अब बिरामी बन्नुपर्ने समस्या पनि हटेको छ । नारायणस्थानमा फोहोर पानीकै कारण झाडापखाला, आउँ र ज्वरोका बिरामी धेरै हुने गरेकोमा अहिले भने यो गाउँ शुद्ध पानी, बालमैत्री धारा र सफा देखिन थालेको हो । शुद्ध पानी अभावमा तत्कालिन नारायणस्थान गाबिसका एक हजार घरधुरीले पानीको सास्ती खेपेका थिए । आफ्नो गाविसभित्र मुल नभएपछि उनीहरुले योजना पार्न सकेका थिएनन् । अन्यत्रको सहमति चाहिने बाध्यताले बर्षौदेखिको सास्ती अहिले हटेको छ ।
संघीयता कार्यान्वयनपछि यो गाविस बागलुङ नगरपालिका १४ नं. वडा बन्यो । यही वडाका अध्यक्ष चुनिए चक्रबहादुर खत्री । पहिलोपटक वडा अध्यक्ष भएपछि खत्रीले वडामा पानी खुवाउने नारा लगाएका थिए । उक्त योजना उनले पुरा गरेर छाडेका छन् । पटकपटक संघीय खानेपानी तथा ढल निकास बिभागमा धाएर उनले ‘नारायणस्थान लिफ्ट योजना’ ल्याए । अहिले यो योजना पूरा भैसकेको छ । घरघरमा शौचालय बनेर प्रयोगमा पनि आएका छन् ।
कालीगण्डकी नदी किनारको मुलमा रिर्जभ ट्यांकी बनाएर ७ सय मिटर माथि र झण्डै १० किलोमिटर पर लगेर तीनवटा ट्यांकी बनाएपछि यो वडाका १ हजारबढी घरमा खानेपानीको धारा पुगेको हो । ‘अहिले त जतिबेला चाहियो, त्यतिबेला घरघरमै धारा आएको छ,’ स्थानीय जमुना श्रेष्ठले भनिन्, ‘शुद्ध पानी घरमा आउँछ, त्यसलाई पनि उमालेर खान्छौं ।’ शुद्ध पानीको कारण आजकल मानिस बिरामी नपरेको उनले सुनाइन् ।
१० करोड ६२ लाख लगानीमा यो आयोजना समपन्न भएको हो । यो आयोजनामा स्थानीयले १० प्रतिशत नगदै लगानी गरेका हुन् । यहाँका १ हजार २५ घरमा अहिले धारा बनिसकेको हो । १ सय २५ एचपीको मोटरले दैनिक पानी माथि तानिन्छ । त्यसकालागि तीनवटा ट्यांकी मार्फत दैनिक ७ लाख लिटर पानी जम्मा गरेर घरघरमा वितरण हुने गरेको छ । ‘पहिला हाम्रा बारीमा बर्षातमा मात्रै केही हरियो देखिन्थ्यो, नत्र केही फल्थेन,’ स्थानीय धु्रब परियारले भने, ‘अहिले घरघरमा तरकारी लगाउने चलन सुरु भैसकेको छ ।’ १५ हजारबढी लिटर पानी उपयोग गर्नेलाई १ सय ५० मात्रै शुल्क छ । शुल्कबाट उपभोक्ता समितिले ८ जना कर्मचारी राखेको छ । ‘तलबमा बर्षको १६ लाख खर्च हुन्छ, तर हामीले १ करोड ७४ लाख कोष बनाइसकेका छौँ,’ खत्रीले भने, ‘यो कोष एकदुई बर्षमा २ करोडबढी बनाउने लक्ष उनले सुनाए । २ करोड कोषको व्याजबाट सातआठ जना कर्मचारी नियमित राख्न सकिने उनले बताए ।
यो आयोजना बनेपछि वडा नं १३ का १ सय ५० बढी घरले पनि शुद्ध खानेपानी पाएका छन् । यहाँको अर्माहा भन्ने टोलकाागि भने वडाको छुट्टै योजना छ । कैयामा भने पहिले नै राम्रो पानी थियो । नारायणस्थानका दुइ माबि, आधादर्जन प्रावि, सामुदायिन भवन र निर्माणाधिन बलेवा बिमानस्थलमा पनि धारा जडान भैसकेका छन् । घरघरमा प्रयोग भएको पानी जम्मा गरेर थोपा सिंचाइको कार्यक्रम पनि शुरु भएको छ । यो क्रमले बारीमा तरकारी लगाउने र बेच्ने बढेका छन् ।





