पोखरा/ सार्वजनिक जग्गा अतिक्रमण रोक्न पुगेका पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदीलाई रड प्रहार गर्ने भूपेन्द्र गिरीलाई अनसुन्धानका लागि सोमबार ७ दिन म्याद थप भएको छ । सुवेदीमाथि शनिवार ६९ वर्षीय गिरीले रड प्रहार गरेका थिए । तर सुवेदीसंगै रहेका अर्का एक व्यक्तिले रड समाएका कारण सुवेदीलाई चोट भने लागेको थिएन ।
जिल्ला प्रशासन कार्यालयले गिरीलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार ७ दिनको समय दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । वडाध्यक्ष सुवेदीले आइतबार हदैसम्मको कारवाहीको माग गर्दै आइतबार वडा प्रहरी कार्यालय बैदाममा उजुरी दिएका थिए । प्रहरीले गिरीलाई आइतबार नै नियन्त्रणमा लिएको थियो । मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ को उपदफा २ मा अभद्र व्यवहार गर्ने व्यक्तिलाई १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।





