बागलुङ/धौलागिरि अस्पतालको भौतिक पूर्वाधार, जनशक्ती र उपकरण थपिएसँगै सेवा पनि गुणस्तरीय बन्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले आम नागरिकको सन्तुष्टी बाट नै अस्पतालको गरिमा बढ्ने र त्यसले बागलुङको भविष्य पनि निर्धारण गर्ने बताए ।
अस्पतालले लेखन नेपालको सहजीकरणमा आयोजना गरेको सार्वजनिक सुनुवाइको कार्यक्रममा सेवाग्राहीले उठाएका प्रश्नमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापा र मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारी लगायतले जवाफ दिएका थिए । उक्त अबसरमा सेवालाई गुणस्तरीय बनाउन अस्पताल प्रशासन सक्रिय भएको बताए । उनले अस्पतालको सिमित श्रोत र साधनका बीच बर्षमा १ लाख २५ हजार जनाको उपचार सेवा दिन सकेको बताए । साथै उनले अस्पतालमा चौविसैघण्टा इमरजेन्सी सेवा, तोकिएको समयमा बिशेषज्ञ सेवा न्युनतम शुल्कमा दिइएको पनि बताए ।
पछिल्लो समय बीमा कार्यक्रमले जनतालाई औषधीमा सेवा पुगेको तर केही गुनासो आएपछि ती बिषय सम्बोधन गरेर सुधार गर्दै लैजान थालिएको पनि बताए । साथै उनले कर्मचारी र स्वास्थ्यकर्मी टिकाउने कार्य गर्न सकेमा अस्पतालले आम नागरिकको सेवामा चुस्त काम गर्न सक्ने बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले अस्पताललाई व्यवस्थित बनाउन आएका सुझाव कार्यान्वयन गर्ने, राजनीतिक भागबण्डामा कर्मचारी नियुक्ती नगर्ने, दक्ष कर्मचारी र चिकित्सकको सहायताले नागरिकको स्वास्थ्यलाई गुणस्तरीय सेवा दिने काम गर्ने बताए । उनले अस्पतालमा अझै सेवा थप्ने र मेडिकल कलेज सम्मको बनाउने लक्ष्य पुरा गर्ने बताए । त्यसकालागि हाल भएको ५० बेड बढाएर कम्तिमा १ सय बेड बनाउने योजना सुनाए । हाल अस्पतालले १ सय २५ बेड सम्म संचालन गरेपनि ओएनएम अभावमा स्थानीय श्रोतबाट ७५ बेडको काम भैरहेको हो । त्यसलाई संस्थागत गर्न गण्डकी प्रदेश सरकारमा पनि पहल भएको उनको धारणा थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, पत्रकार बिजय रानाको संचालनमा भएको कार्यक्रममा अस्पतालका पूर्व अध्यक्ष केवी रानामगर, अस्पतालका बिभागीय प्रमुखहरु समेतले जिज्ञाशाको जवाफ दिएका थिए ।





