सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जैमिनीधाम–कुश्मीसेरा सडक कालोपत्रे हुँदै

जैमिनीधाम–कुश्मीसेरा सडक कालोपत्रे हुँदै


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८२, शुक्रबार

बागलुङ/जिल्लाको दक्षिण भेगमा पर्ने जैमिनी नगरपालिकाको प्रशासनिक केन्द्र रहेको कुश्मीसेरा बजारलाई जैमिनीधामसंग जोड्ने सडक कालोपत्र हुने भएको छ । जैमिनी १ जैमिनीधामदेखि कुश्मीसेरा जोड्ने १ किमी ६ सय ६० मिटर दुरीमध्ये कोप्चेसम्मको ७ सय ६० मिटर सडक कालोपत्र हुन लागेको हो ।
सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि बेस बिछ्याउने काम सकिएको र सवबेस बिछ्याउने काम भईरहेको छ । जैमिनीधामदेखि कुश्मीसेरा जोड्ने मुल सडकको कोप्चे सम्मको ७ सय ६० मीटर सडक कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले कालोपत्र गर्न लागेको हो ।
सडक विभागदेखि कालीगण्डकी करिडोर आयोजना कार्यालयलाई पटक पटकको आग्रहपछि जैमिनीधामदेखि कोप्चेसम्मको सडक खण्डमा कालोपत्रको काम हुन लागेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । यो खण्डमा करिडोरमा काम गरिरहेको कालिका कन्स्ट्रक्सन कम्पनीले कालोपत्र गर्ने छ । दुई लेनको सात मिटर चौडा सडकमा डिबिएसटी प्रविधिको कालोपत्रे हुने छ ।
यस्तै, जैमिनीधाम–कुश्मीसेरा सडकको बाँकी ९ सय मिटर खण्डमा पूर्वाधार विकास कार्यालय बागलुङअन्तर्गत सडक स्तरोन्नतिसंगै कालोपत्र गर्नेगरी काम भईरहेको छ । जैमिनी नगरको रिङरोडमा पर्ने यो सडकमा अहिले बेस बिछ्याउने काम सकिएपछि सव–बेस बिछ्याउने काम चलिरहेको छ । सडकको लागि ५ करोड रुपियाँ बजेट भएपनि २०८१ जेठ १७ गते ३ करोड २० लाख ४७ हजार १ सय १९ रुपियाँमा ठेक्का सम्झौता गरी केबिसी–एसी–जेभीले काम गरिरहेको छ ।
यो बजेटबाट जैमिनी नगरपालिका वडा नं. ३ दमेक र वडा नं. ९ पैयुथन्थापमा पर्ने रिङरोडको ठुल्डाँडा–बाघखोर–नामदुक सडकखण्डमा सडकको भित्ता तास्ने र ग्याबिन जाली भर्ने काम भएको पूर्वाधार विकास कार्यालयका सव–इन्जिनियर प्रकाश श्रीसले बताए । सडक स्तरोन्नतिसंगै कालोपत्र गर्ने समय अवधि १५ महिना भएपनि काम धमाधम भईरहेकाले जेठको अन्तिमसम्म सम्पन्न हुने श्रीसको भनाई छ ।
९ सय मिटर सडक खण्डमध्ये ३ सय मिटरमा ढलान गर्ने काम सकिएको छ । ‘केही संरचनाका काम बाँकी छन्, बेस बिछ्याउने काम सकिएको छ, अब सव–बेस बिछ्याएर कालोपत्र गर्ने काम बाँकी छ’ श्रीसले भने ।
जैमिनीधाम यहाँको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । प्राचीनकालदेखि जैमिनीधाममा प्रत्येक वर्षको माघ सङ्क्रन्तिमा परम्परागत मेला लाग्दै आएको छ । वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको जैमिनीधामको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्ने विषय नगरपालिकाले प्राथमिकतामा राखेको छ । सडक बनेपछि यहाँ पर्यटकको आगमन बढ्नुका साथै स्थानीयलाई आवातजावतमा समेत सहज हुने नगर उप्रमुख शर्माले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->