खाली गिलास – चिया छैन, हातमा चिसो कप ।
खाली बोतल – पानी हैन, सपना चुहिएको बोतल ।
खाली भकारी – अन्नको भोक मात्र होइन, भरोसाको अभाव ।
देश खाली हुँदैछ, तर खाली खाली देखिँदा पनि
कसैले भरेको सपना चाहिँ झन्-झन् भरिँदैछ विदेशमा ।
चुल्हो चिसो छ ।
शब्दहरू तात्छन्, मन चिसिन्छ ।
घरको आँगनमा छायाँ लम्बिन्छ ।
बाउको मुख हेर्ने दिनमा छोरा टाढा ।
मातृभूमि रित्तो हुँदै जाँदा,
माटो कुरिरहेछ आफ्ना पाइला ।
मन उराठिलो हुन्छ ।
तर मरुभूमिमा पनि फूल फुल्छ,
यदि हामी पानी ल्याउन तयार छौं भने ।
सल्लाहहरू ? समाधानहरू ?
सिकाईलाई सीपमा बदलौं ।
श्रमलाई श्रेय दिऊँ ।
विदेश फर्काउने भन्दा,
देशमा रोजगारी बनाउने सोच ल्याऔं ।
जागिर होइन, जागरुकता दिनुपर्छ ।
युवालाई, बा आमालाई, नीति बनाउनेलाई ।
खाली बोतलमा भरौं – आशाको रङ ।
खाली गिलासमा हालौं – आफन्तताको चिया ।
खाली भकारीमा राखौं – आफ्नै उत्पादन ।
देश फर्किन्छ, जब हामी फर्कन सिक्छौं ।
देश भरिन्छ, जब हामी भरोसा गर्न थाल्छौं ।
बागलुङ नगरपालिका – १० भकुण्डे धौलेचउर बागलुङ





