शालिग्राम बोकेर बग्ने कालीगण्डकी,
हिन्दू धर्मको आस्था, प्रकृतिको अनुपम रचना,
अन्ध गल्छिको गर्भबाट निस्केको नीलो सास,
मुक्तिनाथको स्पर्श बोकेको चैतन्य जल।
खनियाघाटको किनारमा उभिएर,
हामी हेर्छौं-कसरी बग्छ ती शक्तिशाली छालहरू,
मिरमि मुनि बाँधले थुनिएको स्वर,
शान्त जलमा लुकेको आर्तनाद सुनिन्छ ।
मालढुङ्गाको किनारमा बजार फस्टाउँछ,
नयाँ पुलले जोडिन्छ जीवनका बाटाहरू,
र्याफ्टिङ सेन्टरमा उमङ्गको छाल उफ्रिन्छ,
तर खोइ नदीको पीडा बुझ्ने आँखा ?
शक्ति मात्र होइन, जीवन हो कालीगण्डकी,
सिर्जनाको स्रोत, संस्कृतिको वाहक,
तर आज उसको बगाइ रोक्ने सोचमा
हामी आफैँ बग्दैछौं विनाशको तीरतिर ।
जलविद्युत् होस् वा व्यापार,
दोहनको नाममा धैर्यता हराउँदै छ,
विकासको नाममा बिनास भइरहेको छ,
नदीको पेटमा खनिएर लुटिएको आत्मा ।
बेनी बजार, बागलुङ बजार, कुश्मा बजारको काखमा
मानव बोकेको पवित्र तीर्थस्थल नदि
देवघाटमा पुगेर नारायणी बन्दै
समुद्रमा मिसिन्छ अमृत बनेर
हामीले बचाउनु छ यो नदी,
हाम्रो संस्कार, हाम्रो भविष्य बचाउन,
भावी सन्तानलाई देखाउनुछ-
कसरी बग्थ्यो कालीगण्डकी एकदिन ।
प्रकृति हामीलाई हेर्छ, प्रश्न गर्छ,
के हामी तयार छौं उसका आँखामा हेर्न ?
कालीगण्डकी बचाउनु अब हाम्रो धर्म हो,
सिर्जनात्मक चेतनाको संकल्प हो यो अभियान ।
बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर, बागलुङ





