२५०० वर्ष अगाडि, जब संसार मोह,
पीडा र अज्ञानतामा डुबिरहेको थियो,
एक युवराजले राज महलको भव्यता छोडेर
सत्यको बाटो समाते ।
बुद्ध-जसले जन्म, बोधि र महापरिनिर्वाण एउटै दिन बैकुण्ठ चण्डी पूर्णिमामा प्राप्त गरे,
उहाँको जीवन कुनै धर्म मात्र होइन, एउटा बोध हो,
एउटा शिक्षा हो, एउटा क्रान्ति हो ।
बुद्ध जयन्ती, चण्डी पूर्णिमा, उभौली पर्व
तीनै पावन अवसरहरू मिलेर
हामीलाई स्मरण गराउँछन्।
जीवन केवल उपभोगको होइन,
जागरणको हो, समझदारीको हो,
र अन्ततः मुक्तिको हो ।
बोध हुनु भनेको आँखाले देख्नु मात्र होइन,
हृदयले अनुभूति गर्नु हो, चेतनाले अँगाल्नु हो ।
बुद्ध जाग्नु भयो, चार आर्य सत्यको बोध गर्नु भयो ।
दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य छ,
र त्यो अन्त्यको मार्ग पनि छ ।
अष्टाङ्गिक मार्ग—शुद्ध दृष्टिकोण देखि लिएर
ध्यान सम्मको यात्रा
जसले व्यक्तिलाई भित्रैदेखि परिमार्जन गर्छ ।
हामी युवाहरू,
शान्तिको खोजीमा आधुनिक यात्रामा छौं,
तर दिशा र गन्तव्य भुलेका छौं ।
बुद्धको दर्शन आज पनि उतिकै सान्दर्भिक छ,
हामीलाई मूल्य, नैतिकता र करुणा सिकाउन,
हामीलाई जागृत गर्न, प्रेम र संयमका साथ बाँध्न ।
शिक्षक बुद्ध, दर्शन शास्त्री बुद्ध, समाज सुधारक बुद्ध ।
उहाँ केवल अतीतका पाना होइन,
हाम्रो वर्तमान र भविष्यका दीप हुन् ।
यस बुद्ध जयन्तीमा,
शान्ति, करुणा र जागरणको यस ध्वनी,
हरेक हृदयमा गुन्जियोस् ।
शुभ बुद्ध जयन्ती।





