बागलुङ/लागुऔषध विरुद्धको अन्तराष्ट्रिय दिवश बागलुङमा पनि बिभिन्न कार्यक्रम गरि मनाइएको छ । ‘स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता ः लागु औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ ३८ औं लागुऔषध विरुद्धको अन्तराष्ट्रिय दिवश बागलुङमा साताव्यापी रुपमा बिभिन्न कार्यक्रम गरि समापन गरिएको हो ।
दिवसको मुख्य दिन बिहिवार विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, लागुऔषधविरुद्ध काम गर्ने विभिन्न निकाय तथा संघसंस्था, समाजसेवी, मिडियाकर्मी, विद्यार्थी लगायतको उपस्थितीमा सचेतनामुलक प्रभातफेरी गरिएको थियो ।
ेबागलुङ बजारमा प्रभातफेरी गरि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा भएको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख अमरबहादुर थापाले लागुऔषध भित्रिने तथा कारोबार हुने स्थानको पहिचान गरि नियन्त्रण गर्न सवै एकजुट हुनुपर्ने बताए । उनले लागुऔषधविरुद्ध काम गर्ने बिभिन्न निकाय तथा संघसंस्थाले यसको गम्भीर लतबाट युवा पुस्तालाई जोगाउन एकिकृत कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । पछिल्लो समय विकराल बन्दै गएको लागुऔषध प्रयोग देशका लागि नै चुनौतीको बिषय बनेको उनको भनाई थियो ।
असार ६ गते अन्तरक्रियात्मक कार्यक्रम गरि शुरु गरिएको साताव्यापी कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयका सचेतनात्मक कार्यक्रम, सरोकारवालाबीच छलफल, मावि स्तरीय वक्तृत्वकला, पुरस्कार वितरण लगाएतका कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालयका नायव सुव्वा रामप्रसाद उपाध्यायले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको समापन कार्यक्रम बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षता र प्रशासकिय अधिकृत नारायण कार्कीको संचालनमा सम्पन्न भएको थियो ।





