काठमाडौं / नेकपा (एमाले)का नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले आफ्नो घरमा प्रवेश गरेर धम्क्याएको आरोप लगाएका छन् । शनिबार (मंसिर ६) बिहान करिब ११ बजे ‘जेनजी’को नेता हुँ भन्दै लुटपाट र गुन्डागर्दी शैलीमा गुरुङ बाराको जितपुर सिमरा उपमहानगरपालिका–४, औराहास्थित आफ्नो घरमा प्रवेश गरेका उनको आरोप छ ।
त्यति बेला आफू पार्टी कामको सिलसिलामा काठमाडौंमा रहेको उनले उल्लेख गरेका छन् । गुरुङले आफ्ना कर्मचारीलाई धम्क्याएको उनले बताएका छन् ।
शनिबार अपराह्न सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले गुरुङले ‘किसान श्रेष्ठको घर फेरि जलाउँछु’ लगायत धम्की दिएका आरोप लगाएका छन् ।
“म पार्टी कामको सिलसिलामा काठमाडौं गएको मौका छोपी आज ६ गते मेरो जितपुर सिमरा-४, औराहामा रहेको मेरो घरमा करिब बिहान ११ बजे जेनजीको कथित नेता हुँ भन्दै लुटपाट र गुन्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाइएका घर पुनर्निर्माण गर्ने मेरा कर्मचारी कामदारलाई धम्क्याउने र किसान श्रेष्ठको घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुनसक्छ भनेर धम्की दिएको घटनाको घोर भर्त्सना गर्दछु,” श्रेष्ठले फेसबुकमा लेखेका छन् ।
उनले जेनजीका नाममा भइरहेको आतंक रोक्न माग गरेका छन् । शान्ति सुरक्षाको प्रत्याभूति गराउन उनले सरकारसमक्ष आग्रह गरेका छन् ।
नेता श्रेष्ठले यही मंसिर ३ र ४ गते बाराको सिमरामा भएको घटनाप्रति दुःख पनि व्यक्त गरेका छन् । “यही मंसिर ३ र ४ गते सिमरामा घटेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु र घाइतेहरूको उपचारको उचित व्यवस्था गर्नको लागि सरकारसँग माग गर्दछु,” उनले भनेका छन् ।
मंसिर ३ गते सिमरामा एमाले कार्यकर्ता र जेनजीबीच झडप भएको थियो । एमाले कार्यकर्ता कुटपिटमा उत्रिएका भन्दै जेनजीले सिमरा विमानस्थलको गेट समेत तोडफोड गरेका थिए । त्यसकै विरोधमा जेनजीले मंसिर ४ गते पनि प्रदर्शन गरेका थिए ।
त्यसक्रममा सिमरामा प्रशासनले कर्फ्यु समेत लगाएको थियो । त्यसको अवज्ञा गर्दै जेनजी प्रदर्शनमा उत्रिएका थिए । कुटपिटमा संलग्न आरोपमा तीनजनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
एमालेले भने जेनजीले आफ्ना नेता-कार्यकर्तालाई अवरोध गर्न खोजेको आरोप लगाएको छ । मंसिर ३ गते एमालेले बाराको परवानीपुरमा कार्यक्रम आयोजना गरेको थियो । त्यसकै पृष्ठभूमिमा झडप भएको हो ।
उक्त कार्यक्रममा सहभागी हुन सिमरा जान लागेका एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत तोडफोड, दुई पक्षबीच तनाव र कर्फ्युपश्चात् विमानको उडान नहुँदा काठमाडौंमै रोकिएका थिए ।
सोही घटना र त्यसपछिको अशान्त अवस्थाको अन्त्यका निम्ति जेनजी र प्रशासनबीचको वार्तामा सहभागी हुन गुरुङ शुक्रबार (मंसिर ५) सिमरा पुगेका थिए । जेनजी र प्रशासनबीच पथलैयामा वार्ता भएको थियो । वार्तामा सहमतिपश्चात् जेनजीले प्रदर्शन रोकेका छन् ।





