पोखरा/बुढीगण्डकी बाढीमा पाँच जना सम्पर्कविहीन भएका छन् दर्जनौ भौतिक संरचना बगेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, गोरखाको चुमनुब्री गाउँपालिका–६, लोक्पादेखि चुम्लिङ बीचको क्षेत्रमा ठूलो पहिरो खसेर बुढीगण्डकी नदी थुनिएको थियो। आइतबार बिहान थुनिएको लेदोसहित बाढी आएको हो।
बाढीमा परेर पाँच जना सम्पर्कविहीन भएका छन्। चुमनुब्री गाउँपालिका–६ स्थित चुम्चेतको उङिलुङका भेडीगोठमा रहेका दुई महिला र तीन पुरुष सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित ४७ जनाको सुरक्षाकर्मीले उद्धार गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीसँगै स्थानीय बासिन्दा पनि खोज तथा उद्धारमा जुटेका छन्।
प्राधिकरणका अनुसार, बाढीले दर्जनौं भौतिक संरचना बगाएको छ। चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थि न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल बगेको छ। त्यस्तै, न्याकचेतकै एक घर बगेको छ भने एक घरमा बाढी पसेको छ।
गोरखाकै धार्चे गाउँपालिका–५ स्थित माछिखोलाबाट केरौजा जोड्ने झोलुंगे पुल बगेको छ। धार्चे–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स उर्जा प्रालिका र वरवर रहेका आठ वटा घर बगेको प्राधिरकणले जनाएको छ।
यसैगरी, आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाको आरुघाटबाट धादिङ जोड्ने पक्की पुलको तीन भागमध्ये गोरखातर्फको एक भाग बगेको छ। आरुघाट–९ स्थित माछिखोलाको तल्लो बस्तीमा बाढी पसेको छ भने २२ वटा घर जोखिममा परेका छन्।
बाढीले आरुघाट–२ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको प्राधिकरणले जनाएको छ। यससँगै ३४१ मेगावाट क्षमताको बुढीगण्की जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्रमा क्षति पुगेको छ भने केही उपकरण पनि बगाएको छ। त्यस्तै, दुई टा टेलिफोन टावर र ५० वटा विद्युत्का पोल पनि क्षति भएको प्रारम्भिक विवरण छ।
बुढीगण्डकी नदीको तटीय क्षेत्रमा आइतबार साँझसम्मै जोखिम रहेको प्राधिरकणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न, जोखिमयुक्त पुल र सडकबाट आवतजावत नगर्न, स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पालन गर्न प्राधिकरणले अनुरोध गरेको छ।







