बागलुङ/बागलुङ बहिरा संघले रजत जयन्ती मनाएको छ । संघका संस्थापक र सहयोगीलाई सम्मान, अधिवेसनमार्फत नयाँ नेतृत्व चयन र साधारणसभा गरेर बहिरा संघले रजत जयन्ती मनाएको हो ।
शनिबार रजत जयन्तीको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले अपांगता भएका नागरिकले समाजमा सबै काम गर्न सक्ने भएकोले अवसरको मात्र खाँचो रहेको बताए । उनले त्यसका लागि अपांगता भएका नागरिकलाई शिक्षा, स्वास्थ्य र सीप विकासमा नगरपालिका अभिभावक बन्न सक्ने बताए ।
बागलुङ नगरपालिकाले सीप विकासमार्फत अपांगता भएका नागरिकलाई व्यवसायमा ल्याउन चाहेको पनि उनले बताए । बागलुङ बहिरा संघ नगरपालिकाको साझेदार बन्न सक्ने उनको भनाइ थियो । त्यसका लागि आगामी दिनमा दोभासेको क्षमता विकास गर्ने, अपांगता सेवा केन्द्र नगरभित्रै स्थापना गरेर संचालनमा ल्याउने र स्थानीय सरकार अपांगको अभिभावक बन्ने गरी नीति र कार्यक्रम समेत बनाएर ल्याउने उनले बताए ।
नगरपालिकाले नगरभित्रका सबै अपांगताको सुक्ष्म अध्ययन गरेर १ हजार ५ सयबढी अपांगलाई परिचय पत्र वितरण गर्ने लक्ष्य पनि उनले सुनाए । उक्त परिचयपत्रको आधारमा उनीहरुको क्षमता र दक्षताको पहिचान गर्ने समेत खड्काको भनाइ छ । उनले सबैखाले अपांगलाई समान अवसर दिन पनि नगरपालिका तयार रहेको बताए ।

नेपाल राष्ट्रिय बहिरा महासंघकी केन्द्रीय सदस्य पार्वती भुजेलले बहिरालाई दयामाया नभइ अवसर चाहिएको बताइन् । क्षमता विकासको क्षेत्रमा भने स्थानीय तहले साथ दिनुपर्ने उनको भनाइ छ । शिक्षा र तालिममा अवसर पाएभने बहिराले आँफै व्यवसाय गर्नेदेखि सरकारी जागिर पनि खान सक्ने उनको धारणा थियो ।
उक्त अवसरमा नेपाल राष्ट्रिय बहिरा संघ गण्डकीकी अध्यक्ष गंगादेवी घर्तीमगरले बहिरा र अपांगहरु अब हेपिएर नभइ सक्षम भएर आउनुपर्ने बताइन् । उनले पहिला जस्तो समाजमा दविएर भित्रभित्रै बस्ने दिन सकिन थालेको भन्दै संघ र महासंघले पनि कोही अपांग घरभित्रै रहेको थाहा पाएमा खोजी गरेर शिक्षा र तालिमको पहुँचमा ल्याएर आत्मनिर्भर बनाउने काममा लाग्ने बताइन् ।
बागलुङ बहिरा संघका कावा अध्यक्ष बासु थकालीको अध्यक्षता, सहसचिव गोपाल गिरिको संचालनमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष बसन्तजंग राजभण्डारी, धौलागिरि बहिरा विद्यालयका प्रधानाध्यापक रेशम श्रीष, अध्यक्ष केवी रानामगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष बसन्तजंग राजभण्डारी, पुर्व अध्यक्ष नलबहादुर थापा, टिकाराम गौतम, समाजसेवी केवी रानामगर, पत्रकार प्रकाश बराल, पुर्व सचिव लबकुश शर्मा, गण्डकी बहिरा संघ र बहिरा विद्यालयलाई पनि सम्मान गरिएको थियो । अधिवेसन सम्पन्न गर्न सहयोग गर्ने दातालाई पनि सम्मान पत्र दिइयो ।
साधारणसभामा कावा अध्यक्ष बासु थकालीले प्रगती प्रतिवेदनसहित आगामी कार्ययोजना पनि प्रस्तुत गरेका थिए । उनले बहिराहरुको सांस्कृतिक कार्यक्रम खेलकुद, एकता प्रर्दशनी, अन्तरजिल्ला र प्रदेशस्तरीय सेमीनारमार्फत पहुँच विस्तार जस्ता कार्यक्रम योजनामा अगाडि सारिएको छ । त्यसबाहेक आयआर्जन कार्यक्रममार्फत हस्तकलाको तालिम केन्द्र संचालन गर्ने, दाता र स्थानीय सरकारसँगको सझेदारी र सहकार्य नियमित बनाउने, दीर्घकालिन आर्थिक श्रोत विकासका लागि योजना निर्माण गर्ने लक्ष्य पनि राखिएको छ ।





