बागलुङ (खर्वाङ)/‘न्वागी’ माटो, कृषि र पशुपालनसंग जोडिएको एक पर्व हो । पछिल्लो आधुनिक र डिजिटल दुनियाँमा छुट्टै पहिचान बनाएको बागलुङ पश्चिमकै ठुलो मेला ‘न्वागी पर्व’मा लाग्ने गर्छ । न्वागी मेलाको मञ्चमा युवा (जेनजी) विद्यार्थीले १७ औं शताब्दीको न्वागीको इतिहास खोतले । कहीँकतै लेखिए, बोलिएका र आफूले सुनेका कुरा मञ्चबाट सुनाए । अनि पोखे अलिकति गुनासो पनि ।
‘पौंदी न्वागी मेला तथा संस्कृति संरक्षणमा नयाँ पुस्ताको भुमिका’ विषयमा आयोजना गरिएको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी ११ विद्यालयका विद्यार्थीरुले विशेषगरी ‘न्वागी पर्व’को मौलिकता बचाउन र पुस्तान्तरणमा जोड दिए ।
उनीहरुले व्यावसायिक बनेको ‘न्वागी मेला’मा मौलिकता हराउँदै गएको तथा आधुनिक प्रविधिले बढाएको मेलाको चर्चा कायम राख्ने चुनौती पनि बढेको चर्चा गरे । पुस्तान्तरण र युवा पिंढीलाई पनि अवसर दिनुपर्ने बताएका उनीहरुले स्थानीय उत्पादन, कला, संस्कृतिको संरक्षण सँगसँगै व्यवसायलाई प्राथमिकता राख्नुपर्ने तर्क गरेका थिए ।
नविनतम् प्रविधिको प्रयोगले डिजिटलाइज्ड गरेको मेलाका पुराना दस्तावेज लिपिबद्ध र सुरक्षित हुनुपर्नेमा उनीहरुको जोड थियो । समयको मागसंगै खर्चिलो बन्दै गएको मेला संरक्षण र निरन्तरताको लागि रोजगार, आर्थिक समृद्धि र स्थानीयको आयआर्जनसंग जोड्नुपर्ने विद्याथीहरुको आयोजकलाई सुझाव थियो ।
‘न्वागी मेला मात्रै हैन । न्वागीको इतिहास, महत्व, उपलब्धिहरु लिपिबद्ध हुनुपर्छ । युवा पस्तालाई जोड्नुपर्छ । मेला हस्तान्तण हुँदा इतिहास र दस्तावेश हराउनुहँुदैन,’ विद्यार्थीहरुले भने,‘नयाँ पुस्ताको सिप, कला र क्षमता, पुरानाको ज्ञान, अनुभव र मौलिकतासंगै मेला संचालन गर्दा पुराना र नयाँ, मौलिकता र आधुनिकताको पनि मिलन आवश्यक छ ।’
बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले न्वागीको इतिहास र महत्वमात्रै हैन, व्यक्तिव्यक्तिको आम्दानी र देशको समृद्धि कृषि पशुपालनबाटै सम्भाव रहेको बताए । ‘न्वागी धान, दहि, चिनी, सिलाम, केरालगायत मिष्ठान एक परिकारको पर्व रहेको बताउँदै वनले भने,‘न्वागी खाँदा जसरी पुर्खाको इतिहास बचेको छ । संघियतापछि जसरी न्वागीको क्षेत्र बढेको छ । त्यसैगरी स्थानीयको आम्दानी बढाउँदै स्वरोजगार बन्न पनि कृषि र पशुपालन नै मुख्य र दरिलो आधार हो ।’
मंसिर १ गतेबाट जारी मेलामा सम्पन्न भएको वक्तृत्वकलामा भिमगिठे माविकी अञ्जली केसी प्रथम, भौरव मावि गलकोटका समिर गौतम द्वितीय र त्रिभुवन मावि बडिगाडकी ग्रिष्मा गिरी तृतीय भएका छन् । मेला मंसिर १० गतेसम्म चल्ने छ ।





