आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मेयरसाप एयरपोर्ट कहिले चल्छ ?

मेयरसाप एयरपोर्ट कहिले चल्छ ?

एयरपोर्ट सेवाको रुपमा नभइ आवस्यकताको आधारमा चल्ने र त्यसमा कम्पनीहरुको व्यवसाय पनि जोडिएकोले चलाउनका लागि चलाएर नपुग्ने, बरु आवस्यकताको आधारमा कम्पनीहरुले प्रतिस्पर्धात्मक रुपमा चलाउने श्रेष्ठको धारणा छ ।


  • ढाेरपाटन संवाददाता
  • मंसिर १० २०८२, बुधबार

तस्बिर : सिर्जना पन्त

बागलुङ/निर्माण सकिएको वर्षौ भैसकेर पनि बलेवा एयरपोर्ट संचालनमा छैन । कालोपत्रे भएको पनि पाँच वर्ष पुग्नै लाग्दा एयरपोर्ट खाली छ ।

यो विषय स्थानीयको चासोको रुपमा रहेको छ । मंगलबार भएको सार्वजनिक सुनुवाइमा स्थानीयले बलेवा एयरपोर्ट कहिले चल्छ ? भनेर सोधेका थिए । स्थानीयको जिज्ञाशामा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले मालढुंगादेखि बलेवा तर्फको सडक कालोपत्र भएर सहज रुपमा ट्याक्सी चल्ने अवस्था भएपछि मात्र संभव हुने बताए ।

कालोपत्र गर्नुअघि नगरपालिकाका तत्कालिन प्रमुख जनकराज पौडेलको पालामा जहाजमा खाली सिट भएमा नगरपालिकाले व्यहोर्ने गरी केही समय जहाज चलाइएको थियो । सो बेला नगरपालिकाले दिएको भुक्तानी अझै बेरुजुको रुपमा रहेकोले नगरपालिकाले दायित्व लिएर जहाज चलाउन नसक्ने श्रेष्ठको प्रष्ट धारणा छ । एयरपोर्ट सेवाको रुपमा नभइ आवस्यकताको आधारमा चल्ने र त्यसमा कम्पनीहरुको व्यवसाय पनि जोडिएकोले चलाउनका लागि चलाएर नपुग्ने, बरु आवस्यकताको आधारमा कम्पनीहरुले प्रतिस्पर्धात्मक रुपमा चलाउने श्रेष्ठको धारणा छ ।

मैदान सहज भएकोले सडक सहज भएपछि कम्पनीहरुले आँफै पहल गर्ने दिन आउने श्रेष्ठको भनाइ छ । अहिले नगरपालिकाले पहल गरेर अधुरो सम्झौता गर्न नसक्ने भन्दै आम नागरिकलाई पनि सो जानकारी गराएको बताए । मंगलबार नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरेकोमा स्थानीयले बलेवा एयरपोर्टलाई किन अलपत्र पारियो भन्ने जिज्ञाशा राखेका थिए ।

२०७८ को बैसाखमा ८ करोड २४ लाख ३४ हजार रुपैयाँको लागतमा बलेवा विमानस्थल कालोपत्र गरिएको थियो । अन्दाजी ७ सय मीटर लम्बाइ कालोपत्रसहित १ हजार १ सय मीटर लामो मैदान ग्राभेल गरिएको छ । ३० मीटर चौडा मैदानमा तारबारले घेरिएको छ । टर्मिनल भवन मर्मत गरेर रंगरोगन लगाएपछि जहाज उडाउने पहल भने नभएको हो ।

बागलुङ नगरपालिका–१४ को नारायणस्थानमा रहेको बलेवा विमानस्थलको घेराबारमा यतिबेला खिया लागिसकेको छ । तारबार लगाएको स्थानबाट धेरैले तस्बिर खिच्ने काम गर्छन् । कतिले कालोपत्रे मैदानको प्रशंसा गर्छन् । कतिपयले जहाज कहिले आउँछ भनेर सामाजिक संजालमा प्रश्न तेर्साउँने गरेकोमा मंगलबार भने नगरप्रमुख र वडा अध्यक्षसामु नै यो प्रश्न आएको थियो । नेपाल पत्रकार महासंघले सार्वजनिक सुनुवाई गरेको थियो । २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले श्रमदान गरेर यो विमानस्थल बनाएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले बाँदर आतंकले खेतीबाली लगाउन नपाएको, लगाएको बाली भित्राउन नपाएको समेत गुनासो गरे । वडा अध्यक्ष चक्रबहादुर खत्रीले किसानको समस्या समाधानमा वडा तहबाट संभव नभएको भन्दै त्यसका लागि राज्यकै ध्यानाकर्षण गराउने बेला आएको पनि बताए ।

सरोकारवालाले वडा कार्यालयमा केही दिनअघि भएको आगजनीबारे पनि जिज्ञाशा राखेका थिए । उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र कसले किन आगजनी गरेको भन्ने यकिन नभएको र सबैले यो प्रश्नको जवाफ खोजीरहेको खत्रीको भनाइ छ ।

बालमैत्री नगर पछि दिगोपनामा चासो नदिएको, वडामा भएका विकास निर्माणका काममा भएको ढीलासुस्ती, स–सानो काममा नगरपालिका पुग्नुपर्ने झन्झट र समयमा निकास नपाएको जस्ता विषय स्थानीयले उठाएको नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्तले जानकारी दिइन् । कार्यक्रममा उठेका जिज्ञाशामा नगरप्रमुख श्रेष्ठ, उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->