आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नयाँपुल–कालाखोला जोड्ने पुलको काम थालियो

नयाँपुल–कालाखोला जोड्ने पुलको काम थालियो

ठेक्काको अधारमा ठेकेदार पक्षले नै यो स्थानमा माटो परीक्षण गरी डिजाइन समेत पेश गरेपछि निर्देशनालयले पुल बनाउन अनुमति दिने प्रावधानसहितको सम्झौतामा काम थालिएको हो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८२, बिहिबार

बागलुङ/कालीगण्डकी करिडोरको कालाखोला र पोखरा बागलुङ राजमार्गको नयाँपुल जोड्ने मोटरेबल पुल बनाउने काम थालिएको छ । गण्डकी प्रदेशको पूर्वाधार विकास निर्देशनालयको ठेक्का सम्झौतामा यो काम थालिएको हो । निर्देशनालयले गत असारमा मुक्तिनाथ अमित संयुक्त निर्माण कम्पनीसँग १७ करोड रुपैयाँमा पुल बनाउने ठेक्का सम्झौता गरेको थियो ।

सोही ठेक्काको अधारमा ठेकेदार पक्षले नै यो स्थानमा माटो परीक्षण गरी डिजाइन समेत पेश गरेपछि निर्देशनालयले पुल बनाउन अनुमति दिने प्रावधानसहितको सम्झौतामा काम थालिएको हो । १ सय मीटर लामो र ११ मीटर चौडा यो पुल तीन वर्ष भित्रमा बनाइसक्नुपर्ने ठेकका सम्झौता रहेको निर्देशनालयका सब इन्जिनियर विजय सुवेदीले जानकारी दिए ।

यो पुलले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलाई नयाँपुलमा जोड्ने छ । गत वर्षातमा कालाखोलामा गएको भिषण पहिरोले करिडोर अबरुद्ध भएको र एक्लेसालमा वर्षेनी खस्ने पहिरोले दक्षिण बागलुङ र करिडोर हुँदै गुल्मी, पाल्पा र बुटवल जाने यात्रीले हैरानी खेपेका थिए । यो पुल बनेमा त्यो समस्या समाधान हुनेछ ।

हाल करिडोरको मालढुंगादेखि बलेवा खण्ड पनि कालोपत्रको तयारी छ । तर, एक्लेसालदेखि कालाखोला सम्मको खण्ड जोखिमको छ । वर्षातमा जहिले पनि अवरुद्ध बन्न सक्ने खतरा भएपछि यो पुलको व्यवस्थापन गरिएको हो । जिल्लाका जनप्रतिनिधिले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गरेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गतवर्ष यो पुलकालागि सहमति दिएका थिए । चालु वर्षको बजेटमै यो व्यवस्थापन भएपछि असारमै ठेक्का लगाइएको हो ।

अहिले ठेकेदार पक्षले कालीगण्डकी किनारको दुवै तर्फबाट २० मिटर तलको माटो निकालेर परीक्षणकालागि प्रयोगशालामा पठाएको छ । प्रतिवेदन आएपछि उक्त स्थानमा पुलको काम थालिने सुवेदीले जानकारी दिए । ठेकेदार पक्षले नै डिजाइन बनाएर निर्माण गर्ने यो नौलो र पहिलोपटकको अभ्याससमेत हो । यो कामले ठेकेदारले समयमा काम सक्ने पद्धति समेत विकास हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->