मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

भोटेकुकुर अन्तर्राष्ट्रिय स्तरमा ‘सिप डग’ मा सुचीकृत

भोटेकुकुर अन्तर्राष्ट्रिय स्तरमा ‘सिप डग’ मा सुचीकृत

अन्तर्राष्ट्रिय डग शो को समेत मान्यता पायो


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०८२, शुक्रबार
120523076

पोखरा/अधिकांशको घरमा कुकुर हुन्छन् । नेपालमा समेत कुकुर पाल्ने प्रचलन छ । गरिब देखी धनाढ्यसम्मको घरमा कुकुर हुन्छन् । जहाँ सामुदायिक कुकुरदेखी संसारकै महँगा मुल्यका कुकुर हुन्छन् ।

संसारका महँगा कुकुर तिनै हुन जुन अन्तर्राष्ट्रिय संस्थाहरुले मान्यता दिएका छन् । तिनै संस्थाहरुमा अब नेपाली रैथाने प्रजातिको भोटे कुकुर समेत समावेश भएको छ । हिमाली भेगमा मात्रै सीमित भोटे कुकुरले छुट्टै प्रजातिको मान्यता विश्वका विभिन्न संघ संस्थामा पाएको छ ।

भोटेकुकुरलाई विश्व फेडेरेसन साइनोलोजी युनियन्स (डब्लु.एफ.सी.यु) ले समेत आधिकारिक मान्यता दिएको छ । यसले भोटे कुकुरले अन्तर्राष्ट्रिय स्तरमा एक ऐतिहासिक र गौरवपूर्ण सफलता हासिल गरेको छ । इन्टरनेशनल क्यानल क्लब पछि विश्वकै प्रतिष्ठित संगठन डब्लु.एफ.सी.यु ले भोटे कुकुरलाई आधिकारिक रूपमा मान्यता प्राप्त प्रजातिको सूचीमा समावेश गरेको छ ।

वैज्ञानिक पुष्टि र वर्गीकरण पश्चात सूचीमा परेको भोटे कुकुर क्लब अफ नेपालका अध्यक्ष विजय पौडेलले जानकारी दिए । उनको नेतृत्वमा विगत केही वर्षदेखि भोटे कुकुरको डिएनए परिक्षण, ४ पुस्ते वंशावली प्रमाणीकरण र वैज्ञानिक मापदण्ड निर्धारण गर्ने काम हुँदै आएको थियो । सोही प्रतिवेदनको आधारमा डब्लु.एफ.सी.यु. ले सिप डग अन्तरगतको सूचिमा वर्गिकरण गरेको हो ।

डब्लु.एफ.सी.यु. विशेषज्ञ आयोगकी अध्यक्ष डा. नतासा जुनीले सार्वजानिक गरेको प्रतिवेदनमा भोटेकुकुर समेत परेको हो । उक्त प्रतिवेदन अनुसार आनुवंशिक सुदृढतामा भोटे कुकुरको डिएनए संरचना अत्यन्तै बलियो र कुनै पनि वंशानुगत रोगहरूबाट मुक्त पाइएको उल्लेख गरिएको छ ।

शारीरिक स्वास्थ्यतर्फ हाडजोर्नी र मेरुदण्डको विशेष परीक्षणमा यो प्रजाति पूर्ण रूपमा स्वस्थ र शारीरिक रूपमा सुदृढ प्रमाणित भएको देखिएको छ । अन्तर्राष्ट्रिय योग्यतामा भनिएको छ ‘यो मान्यतासँगै भोटे कुकुर अब विश्वभर आयोजना हुने आधिकारिक डग शो र प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न योग्य भएको छ ।’

विश्वमा भोटेकुकुरले मात्र मान्यता पाएको छैन् । भोटेकुकुरलाई छुट्टै प्रजातिको रुपमा चिनाउँदै आएका नेपालका ४ जना व्यक्ति समेत अन्तर्राष्ट्रिय निर्णायक र परिषद्को सदस्यको रुपमा नियुक्त भएका छन् ।

अन्तराष्ट्रिय निर्मायक नियुक्त हुनेमा विजय पौडेल, सन्देश थापा साजन बस्नेत र अर्जुन सुनार रहेका छन् । भविष्यको कार्यदिशा भोटे कुकुर क्लब अफ नेपालले हालसम्म एकसय भन्दा बढी भोटे कुकुरहरूको ४ पुस्ते वंशावली तयार पारिसकेको छ । क्लबका अध्यक्ष विजय पौडेल भन्छन्, ‘ यो केवल एउटा क्लबको सफलता मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव हो । हाम्रा पुर्खाहरूले जोगाएको यो रैथाने सम्पदालाई अब विश्वले आधिकारिक रूपमा सम्मान गरेको छ । अबको हाम्रो लक्ष्य यसको शुद्ध प्रजनन र व्यावसायिक प्रवद्र्धन गर्ने हुनेछ ।’

यो मान्यताले नेपालको जैविक विविधता र सांस्कृतिक सम्पदालाई विश्व मानचित्रमा थप प्रगाढ बनाएको उनी बताउछन् । यसबाट नेपालमा कुकुर पालनको क्षेत्रमा नयाँ उत्साह र स्वरोजगारीका अवसरहरू समेत सिर्जना हुने विश्वास लिइएको पौडेलले बताए ।

उनका अनुसार गत वर्ष अन्तर्राष्ट्रिय किन्ले क्लब (आइकेसी) ले छुट्टै जातको रुपमा मान्यता दिएको थियो । मान्यता पाएसँगै अन्य अन्तर्राष्ट्रिय केनेल क्लबहरू वल्र्ड केनेल युनियन, फेडेरेसन साइनोलोजिक इन्टरनेशनललगायतका संस्थाहरुमा पनि आधिकारिक मान्यता दिलाउनका लागि प्रक्रिया सुरु भएको भएको थियो ।

‘अब हामी अन्तर्राष्ट्रिय रुपमा पनि दर्ज भएका छौं । भोटे कुकुर संरक्षण र प्रबद्र्धनका लागि हामी अघि बढ्नेछौं । हामीले नेपालमै पनि विभिन्न डग शो गर्दै यसलाई चिनाउने प्रयास गर्दै आइरहेका छौं’ उनले भने, ‘हाम्रो गाउँको दैनिक जिवनसंग जोडिएको छ भोटे कुकुर । अब विस्तारै यसबाट समेत जिविकोपार्जन गर्ने स्थिति बन्नेमा हामी ढुक्क छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->