आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अदालत जलेको हो, न्याय जलेको छैन : प्रधानन्यायाधीश

अदालत जलेको हो, न्याय जलेको छैन : प्रधानन्यायाधीश

राउतका अनुसार, जलेका २० हजार मिसिलमध्ये ११ हजार ८ सय १९ मिसिल कानून व्यवसायीमार्फत् प्राप्त भएका छन् । त्यसबाहेक झण्डै २ हजार मिसिल सरकारी वकिल र अन्य सरकारी संयन्त्रबाटसमेत फिर्ता आएका छन् ।


  • प्रकाश बराल
  • माघ ९ २०८२, शुक्रबार

बागलुङ/प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अदालत जलाइए पनि न्याय कसैले जलाउन नसक्ने बताएका छन् । शुक्रबार बागलुङस्थित उच्च अदालत भवनको उद्घाटन गर्दै राउतले जस्तोसुकै विषम परिस्थितिमा पनि न्याय विचलित हुन नदिने बताए ।

उनले अदालतको काम कारवाही अब अगाडि बढीसकेको भन्दै छिट्टै आम नागरिकले न्यायको अनुभव पाउने पनि बताए । ‘जलाइएको अदालत उठाइसकेका छौं,’ राउतले भने, ‘भौतिक सम्पत्ति जल्यो तर जनआस्था जलेको छैन ।’ राउतका अनुसार, जलेका २० हजार मिसिलमध्ये ११ हजार ८ सय १९ मिसिल कानून व्यवसायीमार्फत् प्राप्त भएका छन् । त्यसबाहेक झण्डै २ हजार मिसिल सरकारी वकिल र अन्य सरकारी संयन्त्रबाटसमेत फिर्ता आएका छन् ।

भौतिक रुपमा पुनःनिर्माणमा समय लागेपनि अब न्याय सम्पादन भने नियमित चल्न थालिसकेको उनले बताए । अब हरेक अदालतमा भिडियोमार्फत् बहस पैरवी गर्ने गराउने व्यवस्था गरिने, सूचना प्रविधिमा अब्बल बनाउने, अटोमेसनलाई अझै प्रभावकारी बनाउने जस्ता सुधारका योजना समेत उनले सुनाए । गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतसहित २३ वटा अदालत जलाइएको थियो ।

उक्त आन्दोलनलाई प्रधानन्यायाधीश राउतले एउटा घटनाको रुपमा लिएर त्यसबाट पनि कमीकमजोरी भएको भए सुधारिएर जाने प्रतिवद्धता समेत जनाए । ‘अब अदालत समयसापेक्ष अगाडि बढ्छ, हिजोका कमीकमजोरीबाट सिकाइ गर्नुपर्छ,’ उनले भने, ‘अदालत शक्ति र बल प्रयोग गर्ने स्थल होइन, प्राज्ञिक बहसको न्यायिक निकाय हो ।’ उनले आम नागरिकलाई फैसला दिएर मात्र नभइ न्यायमार्फत् राज्यको दिशानिर्देश गर्ने अवस्था पनि बनाउने प्रतिवद्धता जनाए ।

२०७९ मंसिर २८ गते तत्कालीन कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शिलान्यास गरेको अदालत भवन गत जेठमै निर्माण सम्पन्न भएको थियो । तोकिएको समयमै ‘श्याम सुन्दर पशुपति शिवजी संयुक्त निर्माण कम्पनी’ले अदालतको ५ औं तलाको भवन बनाएको हो । उच्च अदालत बागलुङको निर्मित भवनमा ४ वटा इजलाससहित अत्याधुनिक प्रविधि जडान भएको छ । लिफ्टसहितको यो भवनमा आगोलागि भएमा निभाउने प्रविधिदेखि खतराको संकेत गर्ने विधि समेत जडान भएको रजिष्ट्रार रामबहादुर थापाले बताए ।

लागत स्टिमेटभन्दा १८ प्रतिशत कम लागत ५७ करोड ४२ लाख रुपैयाँमा निर्माण गरेर समयमा हस्तान्तरण गरेकोमा ठेकेदार कम्पनीका प्रतिनिधि जयराम अर्याललाई सम्मान गरिएको थियो । हाल यो अदालतले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला अदालतको माथिल्लो निकायको रुपमा काम गर्दै आएको मुख्य न्यायाधीश नातिबाबु लामिछानेले बताए ।

अदालत भवन उद्घाटन कार्यक्रममा न्यायाधीश नहकुल सुवेदी र विनोद शर्मा, न्याय परिषदका सदस्यहरु महेशकुमार नेपाल र दामोदर खड्का, नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयकुमार मिश्र, बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, उच्च बार एसोसिएसन बागलुङकी अध्यक्ष गीता श्रीष लगायतले शुभकामना व्यक्त गरे । उनीहरुले भवन राम्रो बन्दैमा न्याय सम्पादन राम्रो नहुने भन्दै नागरिकले न्याए पाउने वातावरण अबको चुनौती भएको बताए ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको अध्यक्षता, इजलास अधिकृत ऋषिराम रिजालको संचालन र उच्च अदालत बागलुङका मुख्य न्यायाधीश नातिबाबु लामिछानेको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए ।

त्यसअघि उच्च बार एसोसिएसन बागलुङले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई स्वागत गरेको थियो । उक्त अवसरमा राउतले बार समाजको ऐना भन्दै बारको साथ र सहयोगबाटै न्याय निरुपण हुने भएकोे बार बेञ्चको जायज सहकार्यबाट समाजलाई न्याय दिन सकिने बताए । अदालत सूचना प्रविधिमा अगाडि बढ्न थालेको अवस्थामा कानून व्यवसायी पनि प्रविधिमा अभ्यस्त भएर आउन उनले आग्रह गरे । उनले बारको साथ बिना न्यायालय एक्लै हिंड्न नसक्ने समेत धारणा राखे ।

बार अध्यक्ष गीता श्रीषको अध्यक्षता, सचिव उमाशंकर सापकोटाको संचालन र उपाध्यक्ष लक्ष्मी बास्कोटाको स्वागतमा सम्पन्न कार्यक्रममा कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरे र अधिवक्ता राम शर्माले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->