
म्याग्दी/प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका महावीर पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार युवराज रोकाले समर्थन गर्ने घोषणा गरेका छन् । महावप्र पुनले बेनी बजारको वीरेन्द्रचोकमा आयोजना गरेको पत्रकार सम्मेलनमै आएर रोकाले पुनलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
प्रत्यक्षतर्फ महावीर पुनलाई समर्थन गरेपनि समानुपातिकतर्फ भने रास्वपालाई मतदान गर्न रोकाले आग्रह गरेका छन् । शुक्रबार उम्मेदवारी फिर्ताको समय घर्कीसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर फिर्ताका लागि माग गरेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय घर्केकोले फिर्ता गर्न नमिल्ने भनेपछि रास्वपाको उम्मेदवारी भने जिल्लामा कायमै छ ।
म्याग्दीमा ११ राजनैतिक दल र एक जना स्वतन्त्र गरी १२ जना प्रतिस्पर्धीहरु चुनावी मैदानमा छन् । उम्मेदवार रोकाले सर्मथन गरेपनि मतपत्रमा भने घण्टी चिन्ह कायमै रहन्छ । स्वतन्त्र उम्मेदवार पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । रास्वपाले यसअघि घण्टी चुनाव चिन्हबाट निर्वाचनमा सहभागि हुन गरेको प्रस्तावलाई पुनले अस्वीकार गरेका थिए ।
म्याग्दी सदरमुकाम बेनीबजारस्थित चौतारीमा उभिएर एक घण्टाभन्दा बढी समय आफ्नो धारणा राखेका पुनले राज्यका निकायहरुमा काम गर्न निकै मुश्किल हुने गरेको बताए । उनले कुनै पनि कानुन बनाउनका लागि हुने प्रकृया निकै लामो र त्यस प्रकृयाको क्रममा कर्मचारीले दिने दुखका बारेमा समेत बेलिविस्तार लगाएका थिए ।





