आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तीन पूर्वस्ववियु सभापति बागलुङको चुनावी मैदानमा

तीन पूर्वस्ववियु सभापति बागलुङको चुनावी मैदानमा

विद्यार्थी क्षेत्रमा काम गरेकाहरुमा कांग्रेसले क्षेत्र नं. १ मा उठाएका भीम श्रीष र क्षेत्र नं. २ का टेकराज पौडेल पनि छन् । एमाले क्षेत्र नं. १ का उमेदवार हीराबहादुर केसी, राजमोका क्षेत्र नं. १ का उम्मेदवार पनि बिद्यार्थी राजनीतिबाटै आएका नेता हुन् ।


  • प्रकाश बराल
  • माघ ११ २०८२, आइतबार

बागलुङ/निर्वाचनमा धेरै दलका उम्मेदवार हुन्छन् । स्वतन्त्र पनि लड्न पाइन्छ । तर तीमध्ये कतिपय नमूना र केही फरक उम्मेदवार हुन्छन् । यो पटक बागलुङको निर्वाचनमा तीन जना उमेदवार यसअघिको स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएकाहरु छन् ।

विद्यार्थी आन्दोलनमा त अन्य सबैजसो उम्मेदवारले काम गरेका छन् । विद्यार्थी क्षेत्रमा काम गरेकाहरुमा कांग्रेसले क्षेत्र नं. १ मा उठाएका भीम श्रीष र क्षेत्र नं. २ का टेकराज पौडेल पनि छन् । एमाले क्षेत्र नं. १ का उमेदवार हीराबहादुर केसी, राजमोका क्षेत्र नं. १ का उम्मेदवार कृष्ण प्रसाद अधिकारी पनि बिद्यार्थी राजनीतिबाटै आएका नेता हुन् ।

तर, श्रीष, पौडेल र केसी भने आफ्नो पालामा विद्यार्थी माझ पनि चुनिएका नेता हुन् । भीम श्रीष नेपालकै जेठो र ठूलो त्रिभूवन विश्वविद्यालयका पूर्वस्ववियु सभापति हुन् । उनी २०६२ देखि २०६५ सालसम्म केन्द्रीय क्याम्पसको सभापति भए । उनी त्रिवि सभाको सदस्यसमेत भएका थिए ।

उनको इतिहास अनौठो छ । त्रिविको स्ववियुमा उनी चार पटकसम्म रहे । तर, जुनसुकै निर्वाचनमा म्यान अफ दी इलेक्सन भए । दुइ कार्यकाल सदस्य, उपसभापति र सभापति बन्दा नेविसंघको तर्फबाट एक्लै निर्वाचन जित्ने र प्यानलभन्दा सयांैं मत बढी ल्याएर जित्ने नेताको रुपमा चिनिन्छन् । स्ववियुमा रहेको बेला उनले आफ्नो र अर्को संगठन नभनी काम गरिदिएको त्रिविका पूर्वविद्यार्थीहरु बताउने गर्छन् ।

उनी कांग्रेसको १२, १३ र १४ औं महाधिवेशनमा प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका थिए । क्रिकेट संघ क्यानका केन्द्रीय रेफ्री रहेका श्रीष स्ववियु सभापति भएकै नेतृत्वमा त्रिवि क्रिकेट रंगाशाला बनेको हो । उनी उक्त समय निर्माण समितिमा पनि रहेर काम गरेका थिए । विज्ञानतर्फ माइक्रो बायोलोजी, मानविकीतर्फ राजनीति शास्त्र र ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका श्रीष हालै सम्पन्न भएको विशेष महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । नीति निर्माणसहित विकासको लागि जनतासँग हातेमालो गर्ने उनले लक्ष्य पनि सुनाए ।

एमाले नेता हीराबहादुर केसी पनि बागलुङस्थित धौलागिरि बहुमुखी क्यामपसका पुर्व सभापति हुन् । २०५७–२०५९ सम्म स्ववियु सभापति भएका हीराबहादुर केसीले धौलागिरि क्याम्पसमा शिक्षा क्षेत्रको सुधारमा भूमिका खेलेको उनका समकक्षीहरु बताउँछन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङको जिल्ला अध्यक्ष समेत रहेर उनले काम गरे । एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्षसमेत बनेका केसी एमाले बागलुङको दुई कार्यकाल अध्यक्ष भए ।

प्रखर वक्ता, आँटेको काम गरेर देखाउने र विकास निर्माणमा चासो राख्ने नेताको रुपमा केसी चिनिन्छन् । विद्यार्थी राजनीतिबाट आएकै कारण उनले अहिले पनि जनस्तरमा पुगेर सहकार्य गर्न रुचाउँछन् । अहिलेका विद्यार्थी माझ पनि उनी सहकार्य गरेर हिँड्न रुचाउने गरेका छन् । २०७० को संविधान सभा र २०७९ मा पनि उनी बागलुङमा उमेदवार थिए । २०७० को संविधान सभामा उनी कांग्रेस नेता हरिबहादुर खड्कासँग पराजित भएका थिए भने २०७९ को प्रदेशसभा निर्वाचनमा कांग्रेस नेता दिपेन्द्रबहादुर थापासंग पराजित भए । केसी नेतृत्वमा गाउँ र जिल्ला तहका कतिपय विकास निर्माण तथा नीतिगत बहस र पैरवी अभियान पनि संचालन भएका छन् । अझैपनि केही गर्न सकिन्छ भन्ने जोशका साथ केसी निर्वाचनमा होमिएका छन् ।

बागलुङ क्षेत्र नं. २ मा कांग्रेस उम्मेदवार बनेका टेकराज पौडेल पनि विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । पौडेल २०५३ सालमा काठमाण्डौंको ताहाचलस्थित महेन्द्र रत्न क्यामपसको स्ववियु सभापति निर्वाचित भएका थिए । उनको नेतत्वमा त्रिभूवन विश्वविद्यालयमा विद्यार्थी छात्रवृत्तिका कार्यक्रम लागू गर्नेदेखि स्ववियुको सहकार्यमा मात्रै क्याम्पस व्यवस्थापनले कार्यक्रम संचालन गर्ने पद्दती बसालेका थिए ।

नेपाल विद्यार्थी संघ बागलुङको सदस्यदेखि पदाधिकारी, २०५० सालमा धौलागिरि इन्चार्ज, बाल्मिकी क्याम्पसको स्ववियु सचिव र ताहाचल क्यामपसको सभापति भएका पौडेल तीन पटकसम्म कांग्रेसको महाधिवेसन प्रतिनिधि पनि निर्वाचित भएका थिए । नेपाली कांग्रेसका हाल महामन्त्री भएका गुरुराज घिमिरे नेविसंघको अध्यक्ष हुँदा २०६०–२०६२ मा पौडेल सहमहामन्त्री थिए । उक्त समय देशमा संकटकाल थियो । उनले नेपाली कांग्रेसको विदेश विभाग, जनसम्पर्क समिति लगायतका स्थानमा बसेर काम गरेको अनुभव बटुलेका छन् । जिल्ला सदरमुकामदेखि १ सय २० किमी पश्चिमको झीम्पाका पौडेलले राजधानी र विदेश सम्मको यात्रामा कांग्रेसको राजनीति गरेका छन् । हालै सम्पन्न भएको विशेष महाधिवेशनबाट उनी कांग्रेस केन्द्रीय सदस्य समेत निर्वाचित भएका छन् ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका अधिकारी भने अखिल भारत विद्यार्थी संगठनमा बसेर काम गरेको अनुभव संगालेका छन् । उनले २०३८ सालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय भएको बताए । राजनीतिक रुपमा विद्यार्थी संगठनमा भने सबै उम्मेदवार रहेको इतिहास छ । तर महत्वपुर्ण भूमिका खेलेकाहरुले वर्षौपछि मात्र पार्टी मुल राजनीतिको नेतृत्वमा आएर उम्मेदवार बन्ने मौका पाएका छन् । केसीबाहेकका अरु सबै नयाँ उमेदवार हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->