पोखरा/सामाजिक सञ्जाल फेसबुकमार्फत वैदेशिक रोजगारीको झुटो आश्वासन दिई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १९, लामाचौर बस्ने वर्ष ३४ की कल्पना नहर्की पौडेल र मुगु जिल्लाको खप्तड गाउँपालिका वडा नं. ११ स्थायी वतन भई हाल पोखरा महानगरपालिका वडा नं. ६ बस्ने वर्ष २८ का बिरेन्द्र रावत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरीअनुसार आरोपीहरूले फेसबुकमार्फत पीडितहरूसँग कुराकानी गर्दै आफू कानून व्यवसायी भएको र श्रीमान् पोल्याण्डमा होटल खोली सञ्चालन गरिरहेको भनी विश्वास दिलाएका थिए । साथै, पोल्याण्डमा होटल तथा अन्य कम्पनीहरूमा किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजर लगायत विभिन्न पदमा नेपाली कामदारको माग रहेको भन्दै विदेश पठाइदिने प्रलोभन देखाइएको थियो ।
उनीहरूले ११ जना व्यक्तिहरूबाट प्रति व्यक्ति रु. १० हजारदेखि रु. २ लाखसम्म रकम लिएको र जम्मा रु. १४ लाख ६० हजार ठगी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०८२ साल १० महिना ०८ गते दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले सामाजिक सञ्जालमार्फत हुने यस्ता वैदेशिक रोजगारीका प्रलोभनमा नपर्न र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीमा जानकारी गराउन आम नागरिकलाई आग्रह गरेको छ ।





