पोखरा/कास्कीकोट दरबार परिसरमा रहेको गुप्तकाली मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने भएको छ। गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडादसैँको अवसर पारी घटस्थापनादेखि नवमीसम्म महोत्सव सञ्चालन हुन लागेको हो ।
परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको मन्दिरमा यस वर्ष देशमा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट मानवीय र भौतिक क्षति नहोस् भन्ने कामनासहित विशेष पूजा गरिने धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीले बताए ।
घटस्थापनाको दिन विधिपूर्वक कोतघरमा प्रवेश गरी नवदुर्गाभर विशेष चण्डीपाठ तथा दुर्गाकवच पाठ गरिने समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए । कास्कीकोटस्थित गुप्तकाली मन्दिरमा परापूर्वकालदेखि नै विभिन्न पर्व तथा अवसरमा विशेष धार्मिक गतिविधि सञ्चालन हुँदै आएका छन् ।
बडादसैँको फूलपातीका दिन पोखराको रामघाटबाट ल्याइएको फूलको डोली विधिपूर्वक मन्दिरमा भित्र्याई नवपत्रिकाको तान्त्रिक विधिअनुसार पूजा गरिनेछ। सोही दिन कुँवर समुदायको परम्परागत तथा लोपोन्मुख सैन्य अभ्यास ‘सरुन खेल’ समेत प्रदर्शन गरिने कार्यक्रम छ ।
महाअष्टमीको मध्यरातमा कालरात्रिको पूजा गरिनेछ भने महानवमीका दिन पञ्चबलि दिने परम्परा छ। विजयादशमीका दिन मन्दिरमा टीका ग्रहण गरेपछि फूलपाती तथा अन्य पूजासामग्रीसहित वास्पानी कालिकामा पूजा विसर्जन गरिनेछ ।
गुप्तकाली मन्दिरमा पूजाआजा तथा पञ्चबलिको भाकल गर्न आउने भक्तजनको दैनिक भीड लाग्ने गरेको छ ।





