मूर्धन्य साहित्यकार सरुभक्त अक्सर सुनाउँछन् –
जिन्दगीका बाटाहरु धेरै छन्, कुबाटो कुनै नभेटियोस्
मनका निर्मल पानाहरुमा जथाभावी केही नलेखियोस्
ए वाग्देवी ! मलाई वर हैन, आफैंप्रति भर देऊ कि,
म समयको यस्तो कविता लेखूँ कि, जो कहिल्यै पनि नेमेटियोस् !
सर्जकमा लालसा हुनैपर्छ । सरुभक्तको आकांक्षा स्वभाविक हो । पत्रकारिता पनि लेखकीय कर्म नै हो । नारदीय कर्मको रुपमा व्याख्या गरिने यो पेशालाई सत्यप्रतिको निष्ठा मानिन्छ ।सत्यको पक्षमा उभिने, त्यसलाई श्रव्य,दृष्य वा अन्य माध्यमबाट संप्रेषित गर्नु नै पत्रकारिता हो । यो पेशा चुनौतीपूर्ण छ । सत्यको पक्षपोषण र निमुखाको आवाजलाई बुलन्द पार्नु यो पेशाको मुख्य धर्म हो । सत्ता र शक्तिको आडमा गरिने कानुनविपरीतका कार्यमा प्रश्न उठाउनु,उनीहरुलाई विधिसम्मत रुपले चल्न बाध्य तुल्याउनु र दोषीलाई दण्डको भागिदार बनाउने काम पनि पत्रकारिताले गर्नुपर्छ÷गर्छ । भारतको प्रतिष्ठित दैनिक इण्डियन एक्सप्रेसकालागि रितिका चोपडाले त्यही गरिन्,जुन हरेक पत्रकारको कर्तव्यभित्रै पर्छ । उनको खोजमूलक आलेखले भारतको निर्वाचन आयोगले मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआइआर) प्रक्रियामाथि प्रश्न उठायो । मतदाता सूची अद्यावधिक गने क्रममा लाखौं मतदाताको नाम काटिएको दोहोरो नाम,मृत्यु भइसकेका व्यक्ति तथा अयोग्य नाम हटाउने भनिए पनि त्यसले योग्य मतदाताको समेत नाम काटिन पुगेको गम्भीर विषय उजागर भएसँगै भारतमा विपक्षीले विरोध जनाए ।
एसआइआर प्रक्रियाका क्रममा ३० राज्य तथा केन्द्रशासित प्रदेशका प्रारम्भिक मतदाता सूचीबाट १३ करोडभन्दा बढी नाम हटाइएको थियो । यसरी नाम हटाइनुमा सत्तारुढ भारतीय जनता पार्टीको हात रहेको र मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमार भाजपाकै इसारामा चलेको आशंंकालाई बल पु¥याइदियो । मतदाता सूचीबाट नाम हटाउँदा साँच्चै भाजपालाई फाइदा भयो/भएन यकिन छैन तर त्यसपछि जे भएको छ;जगजाहेर छ । यो विषय सर्वोच्च अदालत पुगेको छ । न्यायिक प्रक्रिया जारी रहँदै गर्दा विपक्षीहरु सडकमा आएका छन् । भारतको राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा ककरोज जनता पार्टी(सीजेपी)को आह्वानमा विशाल प्रदर्शन हुनुअघि नै हजारौँ पक्राउ परेका छन् । सीजेपीका नेता अभिजित दीपकेसहित युट्युवर विजय राठी र विपक्षी दलका नेताहरु पक्राउ परेका छन् । सरकार समर्थक र प्रदर्शनकारीबीच भिडन्त भएको छ । राज्यले रेलसहित सबै पारवहन सेवा बन्द गर्दा पनि विशाल प्रदर्शनमार्फत् विपक्षीले सरकारविरुद्ध धावा बोलेका छन् ।
प्रदर्शन रोकिने छाँट देखिएको छैन अनि सरकार पनि नरम बनेको छैन । युवाले सामाजिक सञ्जालमार्फत् निर्माण गरेको ककरोज जनता पार्टीको नेतृत्वमा भएको यो प्रदर्शनले व्यापकता पाउँदा नरेन्द्र मोदी सरकार अप्ठेरोमा पर्ने निश्चित छ । विपक्षीहरु यसअघि शिक्षामन्त्रीविरुद्धको आन्दोलनमा घुँडा टेकेको मोदी सरकार नै पल्टाउने मक्सदमा छन् । शान्तिपूर्ण विरोध प्रदर्शन नागरिकको अधिकार हो र त्यो अधिकारमाथि यो वा त्यो बहानामा अंकुश लगाउन मिल्दैन । आफूलाई विशाल लोकतन्त्रको देश जिकिर गर्ने भारतले कम्तीमा आन्दोलनमा बल प्रयोग नगरोस् र समस्याको शान्तिपूर्ण निकास खोजियोस् । रह्यो,पत्रकारिताको शक्ति विषय ! विभिन्नखाले पत्रकारिताको अभ्यास भइरहेको वर्तमानमा इन्डियन नजिकको इन्डियन एक्सप्रेसले गरेको खोजीबाट नेपाली पत्रकारिताले पनि केही सिकोस् !



