बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

सुरक्षित यात्रा सुनिश्चिता होस्

सुरक्षित यात्रा सुनिश्चिता होस्

चाडबाडको मुखमा हुने आवागमन सहज र सुरक्षित तुल्याउन राज्यले कुनै कसर बाँकी नराखोस् । चाडबाडको छेकोमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका निम्ति पनि राजमार्गहरू तत्काल मर्मत गरियोस् । अवरोधहरू हटाइयोस् ।


  • Dhorpatan News
  • असोज २१ २०८३, बुधबार

भोटेकोशीको अकल्पनीय बाढी र त्यसपछिको वर्षात्सँगै आएको बाढी, पहिरोले देशमा ठूलो जनधनको क्षति भएको छ । ज्यान गुमाएकाहरू फर्केर आउँदैनन् तर बाँचेकाका निम्ति राहत,पुनस्र्थापना र मनोसामाजिक परामर्श आवश्यक छ । तर, त्यसको गति भने सोचेजस्तो छैन । पूर्वाधारमा भएको क्षतिको लेखाजोखा छैन । भोटेकोशी विपत्ति र बाढीपहिरोले तहसनहस बनेको देशमा पुनर्निर्माणको मुद्दा जोडतोडले उठेको छ । पुनर्निर्माणकालागि राज्यले तदारुकता देखाएको छ । पुनर्निर्माण राज्यको दायित्व नै हो । यो दायित्व जति कुशलतापूर्वक सम्पन्न हुन्छ; त्यति नै छिटो देशको अर्थतन्त्रले गति लिन्छ । राज्यप्रति जनविश्वास बढ्न पुग्छ । प्राकृतिक विपत्तिको पूर्वानुमान भए पनि, जोखिम न्यूनीकरणकालागि योजना बने पनि सम्भावित विपत्तिको तयारी पर्याप्त नभएको घटनाक्रमले पुष्टि गरेको छ । जसले गर्दा उद्धार, राहत र पुनर्निर्माणमा कठिनाइ देखिएको छ । यो समस्या सम्बोधनकालागि राज्यबाट भएको प्रयत्नमा टीका, टिप्पणी हुनु अन्यथा होइन ।

देशले यतिबेला शक्तिशाली सरकार पाएको छ । अन्य राजनीतिक दलले पनि विपत्तिको बेला राज्यलाई सघाएका छन् र कमजोरी औंल्याउँदै सुधारको लागि आग्रह गरेका छन् । राज्यले प्रतिपक्षले उठाएका यस्ता मुद्दालाई सकारात्मक रुपमा लिनुपर्छ । गल्ती औंल्याउँदा उल्टो तुच्छ गाली गर्ने प्रवृत्तिबाट राज्य माथि उठ्नुपर्छ र कामबाटै प्रतिपक्षलाईं जवाफ दिन सक्नुपर्छ । हो, क्षति ठूलो छ । पुनर्निर्माणका निम्ति लामो समय लाग्ने निश्चित छ । यतिबेला देशभित्रबाट मात्र नभएर विदेशबाट पनि राहत, पुनस्र्थापनाका निम्तिस्वतः स्फूर्त रुपमा प्रधानमन्त्री दैवी प्रकोप राहतकोषमा ठूलो सहयोग भएको छ । त्यो सहयोगको उचित सदुपयोग होस्, आर्त मनहरूमा महलम लगाइयोस् ।

भोटेकोशी बाढीको विपत्तिबाट उठ्न नपाउँदै बाढीपहिरोले पु¥याएको क्षति पनि उस्तै डरलाग्दो देखिएको छ । चाडबाडको मुखमा चीनतर्फका सबैजसो नाका बन्द हुन पुगेका छन् । काठमाडौं प्रवेशको मुख्य मार्ग पृथ्वी राजमार्ग पनि सग्लो छैन । सडकहरुमा पुगेका क्षतिका कारण दैनिक उपभोग्य वस्तुको भाउ उकालो लागेको छ भने आवागमनमा असुविधा पुगेको छ । मुख्य पर्यटकीय सिजन तथा चाडबाडको मुखमा आइपरेको यो समस्याबाट मुक्तिका लागि राज्य झन बढी क्रियाशील बन्नुपर्ने भएको छ । चाडबाडको मुखमा हुने आवागमन सहज र सुरक्षित तुल्याउन राज्यले कुनै कसर बाँकी नराखोस् । चाडबाडको छेकोमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका निम्ति पनि राजमार्गहरू तत्काल मर्मत गरियोस् । अवरोधहरू हटाइयोस् । चाडबाडको छेकोमा हुने यात्रालाई सुरक्षित तुल्याउन राज्यले सम्पूर्ण सामथ्र्य लगाओस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->