जेनजी विप्लवपछि फेरिएको राजनीतिक परिदृश्यबारे अनेकौं विश्लेषण भइरहेका छन् । पुराना राजनीतिक दलहरू गएको प्रतिनिधिसभा निर्वाचनामा निकै होचो कदमा सीमित भएपछि त्यसका कारणहरू खोजी जारी छ । दलभित्र र बाहिर दलहरुका कमजोरी र सुधार्ने उपायको खोजी हुँदै छ । मुलुकको पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अहिले काठमाडौंमा जारी छ । जेनजी विद्रोहपछि दुई धारमा अघि बढेको कांग्रेसका लागि अहिलेको महाधिवेशन नयाँ परीक्षा हो । जसले एकातिर कांग्रेसलाई नयाँ ऊर्जा, लक्ष्य र एजेन्डा दिन सक्छ भने अर्कातिर यो पार्टीमा सानै किन नहोस्, विभाजन हुन सक्ने देखिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवासहित उनी निकटको सानो समूह अहिले छुट्टै महाधिवशेनको तयारी गरिरहेको छ । अढाई दशकअघि आफ्नै नेतृत्वमा नेपाली कांग्रेस विभाजन गरी नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाएका देउवाकै अग्रसरतामा अहिले कांग्रेस विभाजन हुने खतरा देखिएको छ । मुलुकको लोकतान्त्रिक प्रक्रियाका लागि कुनै दलको विभाजन सुखद् पक्ष होइन ।
गगन थापाको नेतृत्वमा कांग्रेसले विशेष महाधिवेशनमार्फत् नयाँ नेतृत्व स्थापित चुनेको थियो । त्यही बेलाको म्यान्डेटअनुसार अहिले नियमित महाधिवेशन जारी छ । कांग्रेसभित्रको विवाद कहाँ पुग्छ, अदालतमा विचाराधीन मुद्दाको के हुन्छ र पार्टी एक भएर अघि बढ्छ वा विभाजित हुन्छ भन्ने प्रश्नको जवाफ अहिले नै दिन सकिँदैन । कुनै राजनीतिक दलका लागि नियमित महाधिवेशन गर्नु लोकतान्त्रीकरण र रूपान्तरणका लागि महत्वपूर्ण कदम हो । अहिले पुराना राजनीतिक दलहरू इतिहासकै कठिन मोडमा छन् । जेनजी आन्दोलनपछि उनीहरूको पुरानो नेतृत्वप्रति गम्भीर प्रश्न उठेका छन् । नेतृत्व हस्तान्तरण र नीतिगत रूपान्तरणका लागि दबाब बढिरहेको छ ।
महाधिवेशन राजनीतिक दलहरूको सर्वोच्च निकाय हो, जसले नीति र नेतृत्व छनोट गर्छ । नीति र व्यवहारमा परिवर्तन नगरी नेतृत्वमात्रै दोहो¥याउने प्रवृत्तिले दलहरूप्रति जनविश्वास बढ्दैन । नेपाली कांग्रेसको इतिहासमा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरण कठिन भएको छिपेको छैन । कुनै व्यक्ति सभापति भएपछि बाचुञ्जेल सभापति छाड्न नचाहने प्रवृत्ति विगतमा देखिएको थियो । २०४६ सालअघि दलहरु नै प्रतिबन्धमा रहेका बेलाका उतारचढावलाई छाड्ने हो भने पनि कांग्रेसमा सहज नेतृत्व हस्तान्तरण भएको देखिँदैन । जेनजी आन्दोलनपछि विशेष महाधिवशेन गरी नेतृत्व लिने सहास गरेका गगन थापाको समन्वय, दूरदर्शिता र इतर पक्षप्रतिको व्यवहारले पनि कांग्रेस कता जान्छ भन्ने निक्र्याेल हुनेछ ।
राजनीतिक दलहरू लोकतन्त्रका सारथि हुन् । दलहरु लोकतान्त्रिक, पारदर्शी र जवाफदेही हुनै पर्छ । महाधिवेशन पार्टीको नीति, विचार, संगठन र कार्यशैलीको समीक्षा गर्ने अवसर हो । नेतृत्व हस्तान्तरणसँगै युवाको अर्थपूर्ण सहभागिता, आन्तरिक प्रतिस्पर्धा, आर्थिक पारदर्शिता र जिम्मेवारीको जवाफदेहिता सुनिश्चित गर्नुपर्छ । जनताका समस्या, रोजगारी, शिक्षा, स्वास्थ्य, उत्पादन र सुशासनका विषयलाई प्राथमिकतामा राख्नुपर्छ । यसो गर्न नसके दलकै औचित्य कमजोर हुन्छ । कांग्रेसको महाधिवेशनले आन्तरिक लोकतन्त्र र नीतिगत रूपान्तरणको उदाहरण प्रस्तुत गर्न सके अन्य दललाई पनि प्रेरणा मिल्नेछ ।





