बागलुङ / नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले स्थापना गरेको पत्रकार लेखनवृति कोषमा १० लाख रुपैयाँ जुटेको छ । दाताहरुको सहयोग र महासंघ आफैले जम्मा गरेको गरी कुल १० लाख रुपैयाँ संकलन भएको हो ।
पहिलो चरणको सहयोग संकलन अभियानबाट ९ लाख ३५ हजार १९७ रुपैयाँ जुटेको र त्यसमा मिडिया मेलामा बचत भएको ६४ हजार ८०३ रुपैयाँ थप गरेर रु. १० लाख कोषमा जम्मा भएको शाखाका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले बताए । पहिलो चरणमा रु.१० लाखको कोष स्थापना गरिएपनि कोष वृद्धिको अभियान भने निरन्तर चलिरहने छ ।
आठौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले पत्रकार लेखनवृत्ति कोष स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार २०८१ माघ २६ मा औपचारिक कार्यक्रममार्फत लेखनवृत्ति कोषको स्थापना गरिएको थियो । शाखाका पदाधिकारी र सदस्यहरुबाट योगदान रकम जम्मा गरी सुरु गरिएको कोषमा स्वतःस्फूर्त रुपमा अन्य दाताहरुको पनि सहयोग जुटेको शाखा अध्यक्ष राम थापा अविरलले बताए ।
कोष सञ्चालनका लागि कार्यविधि निर्माणको काम भइरहेकाले यथाशक्य चाँडो लेखनवृत्ति प्रदान गरिने अध्यक्ष थापाले बताए । लेखनवृत्ति छनोटका लागि विज्ञ सम्मिलित समिति गठन हुने र सोही समितिले गरेको निर्णयका आधारमा लेखनवृत्ति प्रदान गरिनेछ ।
अध्यक्ष थापाले पत्रकारिता क्षेत्रको गुणात्मक विकास सँगसँगै खोज पत्रकारिताप्रति आकर्षण बढाउने उद्देश्यले लेखनवृत्ति कोषको अवधारणा ल्याइएको बताए । ‘सार्वजनिक सरोकारका विषयमा प्रभावशाली रिर्पोटिङ गर्ने पत्रकारलाई लक्ष्य गरी लेखनवृत्ति कोषको स्थापना गरिएको हो, यसबाट पत्रकारहरुबीच खोजी रिर्पोटिङमा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत हुनेछ ।’
देशविदेशमा रहनुभएका विभिन्न व्यक्ति र शुभेच्छुक सङ्घसंस्थाहरुबाट कोषमा सहयोग प्राप्त भएको थियो । शाखाका सचिव नारायण रिजालले कोषबाट आउने ब्याज रकमबाट बागलुङलाई कार्यक्षेत्र बनाई खोजमूलक समाचार लेख्ने दुई जना पत्रकारलाई रु. ५० हजारका दरले लेखनवृत्ति प्रदान गरिने जानकारी दिए।





