आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

जो दलको समानुपातिकमा परे तर नाम हटाइयो

जो दलको समानुपातिकमा परे तर नाम हटाइयो


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८२, मंगलबार

पोखरा/निर्वाचन आयोगले समानुपातिकतर्फ ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ ।

यसरी नाम हट्नेमा एमालेले कास्कीबाट समानुपातिक सूचीमा नाम राखेका धम्पुसका दलबहादुर गुरुङ पनि छन् । उनको नाम प्रदेशसभाको समानुपातिक सूचीमा समावेश रहेकाले हटाइएको निर्वाचन आयोगले जनाएको छ । यस्तै, नेपाल रिपब्लिक पार्टीको तर्फबाट समानुपातिक सूचीमा परेकी म्याग्दीकी मिनु थापा, सोही पार्टीको तर्फबाट समानुपातिक सूचीमा रहेकी नवलपुरकी गौमाया थापा र दिलकुमारी थापा,सोही पार्टीको तर्फबाट सूचीमा रहेकी स्याङ्जाका धनबहादुर गुरुङ,संयुक्त नागरिक पार्टीको तर्फबाट नाम सिफारिस गरिएका कास्कीका पदमबहादुर गुरुङ पनि रहेका छन् । उनीहरुको नाम यसअघि नै प्रदेशतर्फको समानुपातिक सूचीमा रहेको पाइएको छ । यता, राष्ट्रिय जनमोर्चाको तर्फबाट सूचीमा समावेश नवलपुरका विकाराम चौधरीको चाहिँ चाहिँ बैंकको कालोसूचीमा परेकाले नाम हटाइएको छ ।

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि निर्वाचन आयोगले छानबिन गर्दा ७६ जनाको नाम हटाउने निर्णय गरेको प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन अधिकृतको कार्यालयमा पर्न आएका उजुरी, प्रचलित कानूनले तोकेको उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलहरूबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण रूजु गरिएको आयोगले जनाएको छ ।

आयोगले कांग्रेसबाट १ जना, एमालेबाट १ जना, नेपाली कम्युनिस्ट पार्टीबाट ३ जना समानुपातिक उम्मेदवारको नाम हटाएको हो ।

आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, पच्चीस वर्ष उमेर पूरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना तथा मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जनाको नाम हटाइएको हो ।

यस्तै, महिला उम्मेदवार पेस हुनुपर्ने स्थानमा पुरूष उम्मेदवार पेस गरिएका कारण १ जनाको नाम हटाइएको छ भने सम्बन्धित राजनीतिक दलकै आग्रहमा १० जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ । माथि उल्लिखित कारणमध्ये एकभन्दा बढी कारण परेका २ जना पनि सूचीबाट हटाइएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->