सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फेरि त्यो दिन सम्झन चाहन्नँ…!

फेरि त्यो दिन सम्झन चाहन्नँ…!

‘१ अर्ब ५० करोड चालु खर्चलाई घटाएर पुनः निर्माणमा खर्च गरिँदै छ’ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने, भत्काउन नपर्नेलाई रेट्रोफिट गर्ने र पुनः नयाँ निर्माण गर्नेलाई सायद आगामी बजेटबाट गर्ने भनेर अगाडि बढेका छौँ ।’


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०८२, बिहिबार
फाइल तस्विर

पोखरा/२०८२ सालको भदौ २४ गते । २३ गते सुरु भएको जेन–जी आन्दोलन हिंश्रक बनिसकेको थियो । मोटरसाइकल पड्काउँदै, हाहाहुहु गर्दै लाठी र भालासहित हिँडेको सो जत्थाले नदीपुरमा रहेको प्रदेशसभा भवनको ढोकामा पटकपटक ढुंगामुढा गरे । प्रदेशसभाको सुरक्षाको निम्ति कति पो सुरक्षाकर्मी थिए र ? ‘प्रदर्शनकारीमाथि गोली नचलाउनू र हतियारको सुरक्षा गर्नू’ भन्ने माथिको आदेशले प्रहरीको मनोवल यसै गिरेको थियो । तैपनि सुरक्षाकर्मीले रोक्ने सक्दो प्रयास गरे । तर, उनीहरुको जोड चलेन । गेट फोडेपछि चाहिँ सुरक्षाकर्मी तितरबितर भए । आखिर ज्यान जोगाउनु नै थियो । त्यसपछि आपराधिक जत्थाले प्रदेशसभा परिसरमा रहेका सवारी साधनदेखि भवनसम्म आगो झोसे । पञ्चायतकै पालामा बनेको ढुंगाले छाइएको कलात्मक प्रदेशसभा भवन खरानी बन्यो । साँझ ५ बजेतिर झोसिएको आगो निभ्दा त्यहाँ रहेका महत्वपूर्ण खरानी भइसकेका थिए ।

‘बाइक पड्काउँदै आएकाहरु जेन–जी थिएनन्,आपराधिक जत्था थियो,त्यो,’प्रदेशसभा सुरक्षामा रहेका एक सुरक्षाकर्मीले भनेका थिए,‘हामीलाई गोली चलाउने आदेश थिएन, नत्र त्यति मान्छेलाई कन्ट्रोल कसरी गर्ने हामीलाई थाहा थियो । आफूले काम गर्ने ठाउँ जल्यो । साह्रै नमज्जा लाग्यो । त्यो दिन सम्झन पनि नपरोस् भन्ने लाग्छ ।’

प्रदेशसभा भवनमात्र किन ?
आन्दोलनमा छिरेका आपराधिक तत्वले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुख र योजना आयोगका उपाध्यक्षको कार्यालय,जिल्ला प्रशासनलगायत भेटेका सबैजसो कार्यालयहरुमा आगजनी,तोडफोड र लुटपाट गरे । आन्दोलनको बेला मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारको सिलसिलामा भारत थिए । निवासमा रहेका उनका निजी सम्पत्ति र सामान पनि जले÷चोरी भयो ।

प्रहरी कार्यालयतर्फ २ पूर्ण र २४ वटामा आंशिक क्षति पुग्दा कास्कीमा ८२ वटा सरकारी कार्यालयमामा आक्रमण गरियो । व्यापारिक÷निजी भवनतर्फ ७ पूर्ण र २२ वटामा आंशिक क्षति, ३ वटा पार्टी कार्यालयमा पनि आंशिक क्षति पुग्यो । गण्डकी प्रदेश मातहातका मन्त्रालय र कार्यालयका झन्डै १६० चारपांग्रे र दुईपांग्रे सवारी जलाइयो । मुख्यमन्त्री कार्यालयमै रहेको प्रदेश किताबखाना जल्दा महत्वपूर्ण कागजपत्रहरु खरानी बने । प्रदेश नीति तथा योजना आयोगको ३ वटा गाडी र ४ वटा मोटरसाइकल जलाइयो ।

कात्तिक १४ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिएको जानकारी अनुसार जम्माजम्मी गरेर २ अर्ब सरकारीतर्फ र करिब ३ अर्ब निजी क्षेत्रमाथि क्षति पुग्यो ।आन्दोलनको क्रममा कास्कीमा ३ जनाको ज्यान गयो ।

गण्डकी प्रदेश सरकार आफ्नै लयमा अगाडि बढ्दै थियो । आर्थिक वर्ष २०८२/०८३ को लागि तय गरिएको बजेट कार्यान्वयनको क्रममा रहेको सरकारलाई अकस्मात आइपरेको बिपत्तिले ठूलो झड्का दियो । मुख्यमन्त्री पाण्डेले क्षतिको विवरण संकलनको निर्देशन दिए । बस्न मिल्ने र नमिल्ने भवनको बर्गीकरण गरियो ।

‘कल्पना नै नगरिएको घटना भएकाले सुरुमा कहाँबाट पुनर्निर्माण गर्ने भन्ने भयो तर प्रदेश सरकारले तत्काल सेवा सुरु गर्नुपर्ने कार्यालयहरुलाई आवश्यक सहयोग गर्ने अनि तीन चरणमा पुनर्निर्माण गर्ने निर्णय भयो,’ उनले भने, ‘१ अर्ब ५० करोड चालु खर्चलाई घटाएर पुनः निर्माणमा खर्च गरिँदै छ । भत्काउन नपर्नेलाई रेट्रोफिट गर्ने र पुनः नयाँ निर्माण गर्नेलाई सायद आगामी बजेटबाट गर्ने भनेर अगाडि बढेका छौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->