मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

शिक्षक संघद्वारा कास्कीका उत्कृष्ट विद्यालय सम्मानित

शिक्षक संघद्वारा कास्कीका उत्कृष्ट विद्यालय सम्मानित


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन ३ २०८२, आइतबार

पोखरा/ नेपाल शिक्षक संघ कास्कीले संघको २७ औं प्रतिनिधिसभाको अवसरमा जिल्लाका उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयहरूलाई सम्मान गरेको छ ।

सबै सामुदायिक विद्यालयमध्ये उत्कृष्ट अंकसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल पोखराको फुलबारीस्थित शिव शक्ति माविलाई विशेष सम्मान गरियो । पोखराको नदीपुरस्थित बालमन्दिर मावि र भकुण्डेको शान्त मावि पनि सम्मानित भए । पोखराकै मजुवाको कालिका आधारभूत विद्यालयले पनि सम्मान पायो । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट प्रगतिशील मावि र उल्लेरी आधारभूत विद्यालय सम्मानित भए ।
माछापुच्छ्रे गाउँपालिकाबाट उदय मावि तथा सरस्वती आविले सम्मान पाए भने मादी गाउँपालिकाका सीताराम मावि र चण्डिका आवि सम्मानित भए । रूपा गाउँपालिकाबाट शिवालय मावि र रिठ्ठामीला आवि सम्मानित भएको संघले जनाएको छ ।

कार्यक्रममा यस वर्ष निवृत्त भएका जिल्लाका शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो । जिल्लाभित्र स्थायी, करार र विद्यालय स्रोतबाट नियुक्त भएका नवप्रवेशी शिक्षकहरूलाई भव्य स्वागत गरियो ।
कार्यक्रममा बोल्दै संघका गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछानेले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्दै कांग्रेसले जितेमात्र देशको समग्र शैक्षिक व्यवस्थामा सुधार हुने दाबी गरे ।
सरकार र शिक्षकबीच भएको नौबुँदे सहमति कार्यान्वयन नहुनु दुःखद भएको उनको भनाइ थियो । शिक्षा नियमावली जारी गर्ने समयमै जेठ २ गतेदेखि आन्दोलन हुनु दुर्भाग्यपूर्ण भएको उनले उल्लेख गरे । उनले भने, ‘आगामी निर्वाचनले कांग्रेसको नेतृत्वमा सरकार गठन भए शिक्षकका माग पूरा हुन्छन् ।’

संघकी प्रदेश महासचिव टीका भण्डारी न्यौपानेले शिक्षण पेसालाई सम्मानित बनाउन सही समय र नेतृत्व पहिचान गर्नुपर्ने बताइन् । सभामा प्रतिनिधि सभा सदस्य चुनावका लागि कांग्रेसबाट कास्की क्षेत्र नम्बर २ का उम्मेदवार माधव बास्तोला ‘मधु’ ले पनि मन्तव्य राखे ।

नेपाल शिक्षक महासंघका प्रदेश, जिल्ला तथा महानगरका प्रतिनिधिहरूले पनि कार्यक्रममा बोलेका थिए । नेपाल शिक्षक संघका विभिन्न संगठनका प्रतिनिधि र नेपाल ट्रेड युनियन कांग्रेसका प्रतिनिधिले धारणा राखे । शिक्षा ज्योति सहकारीका सञ्चालक, विभिन्न विद्यालयका प्रधानाध्यापक, निवर्तमान पदाधिकारी र शिक्षकहरूले आ–आफ्ना भनाइ राखेका थिए । नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव तारानाथ भण्डारीले गरेका थिए भने उपाध्यक्ष सीतादेवी भण्डारीले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->