सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

कास्कीका विजयी उम्मेदवारले भने– ‘हामी काम गर्छौँ, एकता भएर लागौँ’

कास्कीका विजयी उम्मेदवारले भने– ‘हामी काम गर्छौँ, एकता भएर लागौँ’

धन्यवाद ज्ञापन कार्यक्रममा कास्कीका ३ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेका उम्मेदवारहरुले एकै मञ्चबाट मतदातालाई धन्यवाद दिँदै पाँच वर्ष जनताको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०८२, बिहिबार

पोखरा/कास्कीमा जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । रास्वपा कास्कीले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा कास्कीका ३ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेका उम्मेदवारहरुले एकै मञ्चबाट मतदातालाई धन्यवाद दिँदै पाँच वर्ष जनताको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित खड्कराज पौडेल (गनेश) ले आम नागरिकले साथ दिएमा मात्रै विकासका काम र योजनाका काम अघि बढाउन सकिने बताए । उनले सबैलाई एकताबद्ध हुँदै नेतृत्वमाथि विश्वास गर्न अनुरोध गरे ।

धेरै सरकारहरुलाई नागरिकले शंकाको आधारमा भोट दिने गरेकोमा अहिले नागरिकले विश्वास र आशाको मत दिएकाले त्यसलाई कायम राख्न आवश्यक रहेको उनले सुनाए । उनले कास्कीमा मात्रै नभएर देशभर रास्वपाको कार्यकर्ताको मतले मात्रै नजितिएको र हरेक पार्टीको झण्डा बोकेर हिँड्ने कार्यकर्ताले समेत मत दिँदा विजयी हासिल भएको कारण कसैलाई पनि नहोच्याउन आग्रह गरे ।

१८३ सिट निश्चित हुँदा अब सदनमा प्रतिपक्षी निकै कमजोर हुँदा लोकतन्त्रमा सडक बलियो भएर आउने हुँदा सडकलाई संयमित बनाउनुपर्नेमा उनको जोड थियो । नेपालमा बहुमत पाएका पार्टीहरुमा अहंकार रहँदै आएको इतिहासले देखाएको हुँदा रास्वपाले त्यसो गर्न नहुने उनी सुनाउँछन् । भविष्य, आकांक्षा र परिपूर्तिका लागि एक हुन आवश्यक रहेको उनले सुनाए ।

‘हरेक प्रकारको बहुमत अन्तिममा अहंकारमा टुंगिने र त्यो अहंकारी निरंकुशतामा पुग्ने नेपाली इतिहास रहिआएको छ । त्यो विडम्बनाको साक्षी अब हामी बन्नु हुँदैन । हामी जुनसुकै विचारधाराका साथीहरुलाई लिएर अघि बढ्ने छौं । लोकतन्त्रमा पक्ष जति विपक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ’ पौडेलले भने, ‘सदन उस्तै परे संख्यात्मक हिसाबले न्यून छ र गुणात्मक हिसाबले पनि कमजोर हुने सम्भावना छ । यस्तो बेलामा सडक बलियो हुन्छ । जनताको आवाज सडकमा आउन सक्छ यसतर्फ हामीले ध्यान दिएर काम गर्नुपर्नेछ ।’

यस्तै कास्की क्षेत्र नम्बर २ बाट विजयी भएका उत्तम पौडेलले अबको पाँच वर्षपछि अहिले नआएको मतसमेत रास्वपालाई नै आउने गरी काम गर्ने बताए । उनले अहिले धेरैले उम्मेदवार नचिनेको सुनाउँदै बालेन शाहलाई चिन्दै घण्टीमा मत दिएका कारण अबको पाँच वर्ष मतदाताले चिन्ने गरी काम गर्ने भनाइ राखे । आफूले पाएको जिम्मेवारी इमानदारीताका साथ निभाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

‘हिजो कसैले हाम्रै किल्ला हो जनतालाई दास बनाएर राख्दा पनि हामीलाई मत दिन्छन् भन्ने जुन विश्वास थियो आज त्यो विश्वास तोडिएको छ । अबको समय फेरिएको छ । नागरिकलाई काम चाहिएको छ अबको पाँच वर्ष म तपाईँहरुकै सेवक बनेर बस्नेछु’ उनले भने, ‘मैले उम्मेदवार नचिनेको भन्ने धेरै पाएँ, ठीकै छ तपाईँले मलाई चिन्नु भएन तर, घण्टी चिन्ह चिन्नुभयो, सभापति, वरिष्ठ नेतालाई चिन्नुभयो । अबको पाँच वर्ष मैले तपाईँले दिएको जिम्मेवारी पुरा गरेर आएँ भनेर भन्ने छु ।’

कास्की क्षेत्र ३ बाट विजयी विना गुरुङले आफूहरुको मुख्य एजेन्डा नै काम भएकाले सोही एजेन्डालाई आत्मसात गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कास्कीमा क्षेत्र नम्बर १ मा गनेश पौडेलले ३९ हजार ८८३ मत प्राप्त गर्दै विजयी भएका हुन् । यस्तै २ मा उत्तम पौडेलले ३१ हजार ९११ तथा ३ मा विना गुरुङले ३७ हजार ७५० मत प्राप्त गर्दै विजयी भएकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->