पोखरा / नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको हृदयघातका कारण विहीबार निधन भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए । एमाले कास्कीको पार्टी कार्यालयमा निर्वाचन क्षेत्र नम्बर १ समन्वय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा थापा हार्ट अट्याक भएर ढलेका थिए ।
उनलाई तत्कालै मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएको थियो । दिउसो ३.३७ बजे चिकित्सकले उनको मृत्युको घोषणा गरेको एमाले गण्डकी प्रचार विभागका सचिव रामजी लम्सालले बताए । उनको शव अस्पतालमा राखिएको छ ।
एमाले कास्की जिल्ला सचिव दर्शन लामाका अनुसार बैठक सकिएर थप कुराकानी गरिरहेको क्रममा थापालाई हृदयघात भएको हो । बैठक सकिएर आफू थापालाई भेट्न मञ्चमा पुगेको र हात मिलाउने क्रममा उनलाई हृदयघात भएको उनले बताए । पार्टी कार्यालयभित्र आयोजित बैठकमा नेता तथा कार्यकर्ताहरूले चुनावको टिकट बाँडफाँड र पार्टीको नतिजालाई लिएर नेतृत्वमाथि प्रश्न उठाएका र नेता थापाले बैठकलाई सम्बोधन गर्दै जवाफ पनि दिएका थिए ।
उनले चुनावी नतिजाको सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिने पनि बताएका थिए । एमालेका नेता टीकाराम पंगेनीका अनुसार बैठक सकिएपछि मञ्चमा पुगेर थापासँगै बसेर कुराकानी गर्दागर्दै एक्कासि थापाको घाँटीबाट अस्वाभाविक आवाज आएपछि तुरुन्तै जुत्ता खोलिदिएको र गाडीमा राखेर अस्पताल पठाइएको थियो ।
उनी २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए भने २०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य भएका थिए । २०७९ मा उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए । यसपटकको चुनावमा पनि थापाले कास्की-२ मा टिकट प्राप्त गरेका थिए । तर, पछि त्यही टिकट रश्मी आचार्यलाई दिइएको थियो ।





