पोखरा / नेकपा केन्द्रिय सदस्य एवं पोखरा महानगरपालिकाका पूर्व नगरप्रमुख कृष्ण बहादुर थापाको पार्थिव शरीरलाई पार्टी जिल्ला कार्यालयमा राखेर श्रद्धाञ्जली दिइएको छ । शनिवार विहान कास्की पार्टी कार्यालयमा उनको पार्थिव शरीरमा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गरे ।
सो अवसरमा एमाले उपाध्यक्ष गुरुङले थापाको निधनबाट पार्टीले असल योद्धा गुमाएको बताए । उनले थापाले कास्कीमा मात्रै नभएर लमजुङमा समेत पार्टी निर्माण गर्नमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै पोखरा र पार्टीका लागि थापाको योगदान बिर्सन नसकिने भएको बताए ।
श्रद्धाञ्जली कार्यक्रममा एमालेसहित विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका थिए । थापालाई श्रद्धाञ्जली दिन एमालेका संगठित कार्यकर्ता मात्रै होइन, सर्वसाधारण पोखरावासीको पनि बाक्लो सहभागिता थियो ।
थापाको पार्थिव शरिरमा पोखरा महानगरपालिका र घरमा समेत उपस्थित सवैले फुलगुच्छा अर्पण गरी श्रद्धाञ्जली ब्यक्त गरेका थिए । उनको शवको आजै अन्त्येष्टि गर्ने तयारी भइरहेको एमाले कास्कीले जनाएको छ ।









