पोखरा/ नेपाल रेडक्रस सोसाइटी कास्कीको ४२ औं वार्षिक साधारण सभा तथा कास्कीको जिल्ला सभाको शनिबार भएको छ । सभामा रेडक्रस कास्कीका पूर्वसभापति डोलराज पाण्डेलाई १० हजार नगदसहित वर्ष स्वयं सेवा सम्मान प्रदान गरिएको छ ।
यसैगरी प्राथमिक उपचार स्वयंसेवक लीला अधिकारी देवकोटालाई उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट कर्मचारीका रुपमा राजकुमारी अधिकारीलाई सम्मान गरियो । ४२ औं जिल्ला स्तरीय युवा गोष्ठी तथा ३१ औं शिक्षक नायक गोष्ठी कुशलतापूर्वक सम्पन्न गर्ने जुनियर तथा युवा सर्कल जनप्रिय मावि सिमलचौरलाई प्रंशसापत्रसहित सम्मान गरिएको रडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले जानकारी दिइन् ।
कास्कीका ४८ उपशाखा मध्ये सर्वोत्कृष्ट प्रथम पोखरा १२ उपशाखा, द्वितीय पोखरा १० उपशाखा, तृतीय पोखरा ५ उपशाखा र सान्त्वना पोखरा २५ र पोखरा २ र ३ उपशाखालाई नगद सहित पुरस्कृत गरिएको छ । लैंगिक तथा सामाजिक समावेशिकरणको क्षेत्रमा उत्कृष्ट काम गर्ने रेडक्रस सोसाइटी पोखरा ५ उपशाखालाई सम्मान गरिएको हो ।
कार्यक्रममा सदस्यहरु कृष्णप्रसाद पौडेल, गमबहादुर कुँवर, नेत्रपाणि भण्डारी, राजेन्द्र पहारी, शेषनारायण पौडेल र गोविन्द तुलाचनलाई सम्मान गरिएको छ । त्यस्तै विशिष्ट सदस्यताहरु भोजराज लामिछाने, वर्षा सुवेदी, शिव खड्का, दीपेन्द मर्सानी, शम्भुलाल श्रेष्ठ, मिरा श्रेष्ठ, बासुदेव तिमिल्सिना, लक्ष्मी पहारी, उत्तम जोशी, हिरा घले, रुद्रनारायण मल्ल, रामकुमार श्रेष्ठलाई सम्मान गरिएको हो ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले रेडक्रस सोसाइटीले विपद् व्यवस्थापन तथा मानवीय सेवाको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । प्रदेश सरकारले नीति तथा कार्यक्रम एवं बजेट निर्माण गर्ने बेला आएको जानकारी दिदै उनले रेडक्रसको अभियानका कुनै न कुनै रुपमा सम्बोधन गर्ने उल्लेख गरे । ‘सरकारले प्रदेशको स्वास्थ्य क्षेत्रको सबलीकरणमा ध्यान दिएको छ,’ उनले भने, ‘नागरिकलाई स्वास्थ बनाउन जनशक्ति व्यवस्थापन र अस्पतालको स्तरोन्नतिको काम गरेको छ ।’ उनले रक्त सञ्चार सेवा लगायत नागरिकको स्वास्थ्यका लागि रेडक्रसको भूमिका रहने चर्चा गरे । प्रदेश सरकारले एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले रेडक्रस कास्कीसँग एम्बुलेन्स वा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने बताए ।
नेपाल रेडक्रस सोसाइटी गण्डकीका अध्यक्ष सूर्यप्रसाद ढकालले रेडक्रस सोसाइटीको केन्द्रीय समितिले विधान संशोधन गरेपछि पालिका स्तरको संरचना बन्न लागेको जानकारी दिए । उनले मातहतका ४८ उपशाखाको सबलीकरणमा ध्यान दिएको कास्की शाखाले आगामी दिनमा थप ५ पालिकाको काममा संयोजन गर्ने बताए । सभाले शाखाका मन्त्री सन्तोष अधिकारीले पेश गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष मोहनसिंह खड्काले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८३ /०८४ को प्रस्तावित बजेटलाई सुधार सहित पारित गरेको छ । सभामा लेखा समितिका संयोजक तारानाथ आचार्यले आर्थिक वर्ष २०८१/०८२ लेखा समितिको प्रतिवेन पेश गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, पृथ्वी नारायण क्याम्पसका पूर्व प्रमुख जोर्ज जोन, रेडक्रस कास्की शाखाका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, पूर्वअध्यक्षहरु डोलराज पाण्डे र रघुनाथ अधिकारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष उमराज गौतम, गैसस महासंघ नेपाल कास्की अध्यक्ष इन्दिरा पौडेल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, रेडक्रस कास्की शाखाका उपसभापति रमा कोइराला न्यौपाने, शाखाका उपमन्त्री डिल्लीराम बराल, पोखरा १९ उपशाखाका सभापति रमेश विश्वकर्मा लगायतले रेडक्रसले मानवीय सेवाको क्षेत्रमा गरेका कामको चर्चा गरे ।





